काठमाडौं । देशभर आगामी तीन दिन मौसम आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार २०८२ चैत्र ३ देखि ५ गतेसम्म विशेषगरी हिमाली तथा पहाडी भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको छ ।
चैत्र ३ गते (मंगलबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रसहित अन्य प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी पहाड र तराईमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । कोशी र गण्डकीका पहाडी क्षेत्रमा असिनासहित हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ । साथै अपराह्नपछि देशका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।
चैत्र ४ गते (बुधबार) देशभरका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा मेघगर्जनसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी चैत्र ५ गते (बिहीबार) मौसम अझ सक्रिय हुने देखिएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिमका केही स्थान, लुम्बिनी र गण्डकीका थोरै स्थान तथा बागमती र कोशीका एक/दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ ।
रातिको समयमा पनि हिमाली क्षेत्रहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात जारी रहने सम्भावना रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । विभागले मेघगर्जन, चट्याङ, असिना र हावाहुरीबाट हुन सक्ने सम्भावित क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।