काठमाडौं । उपभोक्ताले शुक्रबारदेखि आधा भरिएको ग्यास सिलिन्डर पाउने भएका छन् । भारतबाट आयात हुने ग्यास परिमाण घट्न थालेपछि आयल निगमको निर्देशनमा उद्योगीले आधा ग्यास भरिएको सिलिन्डर बिक्री गर्ने भएका हुन् ।
निगम सञ्चालक समितिको निर्णयअनुसार आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।
यसअघि ०७२ मा भारतले नेपाललाई नाकाबन्दी गरेका वेला पनि आपूर्ति घट्दा आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको थियो । पूरा भरिएको सिलिन्डरमा १४.२ किलो ग्यास हुन्छ । अब आउने ग्यासमा ७.१ किलो ग्यास हुन्छ । हाल दैनिक खपत १३२ सिलिन्डर भए पनि भारतले विश्व बजारबाट आपूर्ति कम भएको कारण देखाउँदै नेपाल निर्यात गर्ने परिमाण पनि घटाउन थालेको छ ।
मुलुकभर दैनिक एक लाख सिलिन्डर ग्यास खपत हुने गरेको छ । आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास वितरण गर्दा दैनिक दुई लाख सिलिन्डर वितरण गर्न सकिने निगमको दाबी छ ।
आगामी दिनमा सामान्य अवस्थाको तुलनामा नेपाल निर्यात हुने परिमाण थप कटौती गर्ने भारतले संकेत गरेकाले ग्यास आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइएको आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । ‘आपूर्ति सहजताका लागि यो निर्णय गरिएको हो,’ उनले भने ।
बजारमा आधा ग्यास भरिएको सिलिन्डर पठाउने विषयमा आयल निगमले तीन दिनअघिबाट गृहकार्य गरिरहेको थियो ।
खासगरी दुई–तीन दिनयता तराईमा पनि माग उच्च हुन थालेपछि आपूर्ति सहज गराउन मुस्किल बन्दै गएको थियो । त्यसपछि आयल निगमका अधिकारी र उद्योगीहरूबिच मंगलबार दिउँसो बसेको बैठकमा आपूर्ति सहजताका उपायबारे छलफल भएको थियो ।
बुधबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सचिव मधुसुधन बुर्लाकोटीसहित आयल निगमका अधिकारीहरूले थप छलफल गरेका थिए । छलफलमा पनि माग बढ्दै गएकाले आगामी दिनमा ग्यासको सहज आपूर्ति गर्न कठिनाइ हुने निष्कर्ष निकालिएको थियो ।
बिहीबार दिउँसो भने उद्योगमन्त्री अनिलकुमार सिन्हा, सचिव बुर्लाकोटी, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, ग्यास उद्योगीहरू गोकुल भण्डारी, शिवप्रसाद घिमिरेलगायतको उपस्थितिमा छलफल भएको थियो ।
उक्त छलफलमा भारतबाट आयात कम हुन थालेकाले आगामी दिनमा थप असहजता हुने विषय उठेको थियो । त्यसपछि मन्त्री सिन्हाको निर्देशनमा आधा ग्यास भरिएको सिलिन्डर प्रचलनमा ल्याउने निर्णय कार्यान्वयन भएको हो ।
निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले आपूर्ति सहज बनाउन आधा ग्यास भरिएको सिलिन्डर बिक्री–वतरण सुरु गर्ने भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यपूर्वमा चलिरहेको युद्धका कारण बजारमा ग्यासको माग बढेको र सहज रूपमा ग्यास नपाइएको भन्ने जनगुनासो बढेकाले त्यसलाई सामान्य बनाउन भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यासको वितरण गर्ने । आधा सिलिन्डर ग्यासको मूल्यसमेत आधा अर्थात् ९५५ पर्ने हुँदा सोहीबमोजिम खरिद गर्नुहुनसमेत जानकारी गराइन्छ ।’
भारतबाट कम आउन थाल्यो ग्यास
आयल निगम स्रोतका अनुसार भारतबाट बुधबार र बिहीबार कम ग्यास आयात भएको छ । दैनिक कम्तीमा ११५ बुलेट ग्यास आयात हुने गरेकोमा पछिल्ला दुई दिन ९० देखि ९५ बुलेट मात्रै लोडिङ दिइरहेको निगमले जनाएको छ ।
आजैबाट अनुगमन चुस्त पार्ने
मागमा आएको संकुचनका कारण सरकारले आपूर्ति सहजताका लागि आधा भरिएको ग्यास सिलिन्डर प्रयोगमा ल्याउने निर्णय कार्यान्वयन गरेको छ । अब सिलिन्डरमा आधा परिमाण ७.१ किलोग्राम ग्यास हुन्छ कि हुँदैन भन्ने कुरामा बढी सजग हुनुपर्छ ।
सरकारले अनुगमन संयन्त्र चुस्त बनाएर खाली सिलिन्डरको तौल १५.४ किलोग्राम र ग्यासको तौल ७.१ किलोग्राम गरी कुल २२.५ किलोग्राम हुनुपर्ने यकिन गराउनुपर्छ ।
उपभोक्ताले पनि डिलरबाट ग्यास लैजादा तौलेर मात्र लैजाने गर्नुपर्छ । सिलिन्डरको पातामा नै खाली सिलिन्डरको तौल १५.४ किलोग्राम रहेको उल्लेख हुन्छ ।
त्यसैका आधारमा आधा परिमाण ग्यास रहे-नरहेकोबारे उपभोक्ता खरिदअघि चनाखो हुनुपर्छ । -पत्रपत्रिकाबाट