भरतपुर । शनिबार कालिका–९ मा भएको अटो दुर्घटनाको कारणमा चालकको लापर्बाही देखिएको छ । चितवन ट्राफिक प्रहरी प्रमुख प्रनि अनिल थापाले आइतबार दुर्घटनास्थलमा पुगेर दुर्घटनाको कारणबारे प्रारम्भिक जानकारी लिएका छन् ।
प्रनि थापाका अनुसार अटो चालकले ओरालो बाटोमा न्युट्रलमा राखेर अटो चलाएका थिए । ओरालोमा अटोको गति तीव्र हुन थालेपछि एक्कासि ह्यान्ड ब्रेक लगाइएको थियो । एक्कासि ब्रेक लगाउँदा अटो पल्टिएको र लगत्तै चट्टाने भित्तामा ठोक्किएको थियो । पिच सडक र चट्टाने भीरमा ठोक्किएको अटो पटकपटक पल्टँदै, घिस्रिँदै ३५ मिटरजति अगाडि बढेको थियो ।
‘दुर्घटनास्थलमा पुगेर हेर्दा र घाइतेसँग बुझ्दा दुर्घटनाको कारण लापर्बाही नै देखिन्छ’, प्रनि थापाले भने, ‘सडक र अटोको अवस्था हेर्दा घटना दर्दनाक नै छ । नयाँ चालकका लागि यो बाटो निकै अप्ठेरो रहेको भन्दै तेल जोगाउने नाममा ओरालोमा न्युट्रलमा राखेर सवारीसाधन चलाउने प्रायको बानी हुनाले त्यो घातक बन्न सक्ने उनले बताए । सडकको बनावट, भौगोलिक अवस्था हेर्दा त्यो सडक जोखिमयुक्त रहेकाले सावधान भई चलाउनुपर्ने भन्दै साँघुरो सडक र छोटो दूरीमै घुम्तीहरु धेरै रहेकाले बढी जोखिम रहेको प्रनि थापाले बताए ।
शनिबार उपरदाङगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । घटनामा ४ जनाको ज्यान गएको छ । उपरदाङगढी घुमफिर गरेर फर्कने क्रममा उनीहरु सवार अटो दुर्घटना भएको थियो । दुर्घटनास्थल कालिका नगरपालिका–९, द्रव्यटारमा पर्छ । यस स्थानमा यसअघि पनि पटकपटक गाडी र मोटरसाइकल दुर्घटना भएका थिए ।
दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९ का ३९ वर्षीय पूर्ण विकसहित राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।
दुर्घटनामा परी घाइते राप्ती नगरपालिका–९ की ५३ वर्षीया चिनीकुमारी गुरूङकोे सोही अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।