Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर क्षेत्रमा यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय

भरतपुर क्षेत्रमा यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय

इच्छाकामना न्युज

१०, फाल्गुण २०८२
भरतपुर क्षेत्रमा यातायात व्यवस्थापनका लागि विभिन्न निर्णय

चितवन । चितवनको भरतपुर मुख्य बजार क्षेत्रमा यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय भएका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दूरीका गाडी सञ्चालन, मालवाहकको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी विभिन्न निर्णय गरेको हो ।

images

निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाण्डौ तथा पोखरा जाने बस, मिनीबस, माइक्रोबस लगायतले अनिवार्य रूपमा केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै बाइपास सडक प्रयोग गरी आँपटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जानेले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी चौबिसकोठी, लायन्सचोक हुँदै पुल्चोकबाट बाहिरिनुपर्नेछ ।

पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाण्डौतर्फ लाग्ने गाडीले केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी केन्द्रीय बसपार्क चोक हुँदै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाण्डौबाट पूर्व वा पश्चिम जानेले आँपटारीबाट बाइपास सडक हुँदै केन्द्रीय बसपार्कमा ‘पिक एन्ड ड्रप’ गरी गन्तव्यतर्फ जानुपर्नेछ ।

चितवनबाट पूर्व तथा पश्चिम जाने लामो दूरीका गाडीले अनिवार्य रूपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्याङ्जा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई आँपटारी हुँदै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभाबी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि रोक्न नपाइने निर्णय भएको छ । केन्द्रीय बसपार्क र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिई सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ त्यही बसपार्कमा गर्नुपर्नेछ ।

भरतपुर महानगर क्षेत्रको चक्रपथमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका ठाउँमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टाँडी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहाँबाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।

नारायणगढबाट कावासोती, डन्डा, हेटौँडा र वीरगञ्ज जाने बस तथा मिनीबसको क्यु लिने ठाउँ केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका ठाउँ बाहेक अन्यत्र ‘पिक एन्ड ड्रप’ तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय गाडीको ‘पिक एन्ड ड्रप’ ठाउँ महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ । भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबिसकोठी हुँदै लायन्स चोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित ठाउँबाट छुटेका गाडी तोकिएको अन्तिम ठाउँसम्म अनिवार्य पुग्नुपर्नेछ ।

चितवनभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आ–आफ्नो क्यु छुट्ने पार्कबाट रुट नम्बरका आधारमा सञ्चालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्य रूपमा प्रालिमा दर्ता भई त्यही प्रालिको लोगो लगाएर मात्र सञ्चालन गर्नुपर्नेछ । लोगो नभएका अटो सञ्चालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ । अटोको रुट, सेक्टर विभाजन तथा रङ्ग निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन निषेध गरिनेछ ।

तीन पाङ्ग्रे साना गाडीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ । नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा बिहान ८ देखि बेलुका ८ बजेसम्म ठूला मालवाहक तथा लामो दूरीका गाडीलाई प्रवेश निषेध गरिएको छ । काठमाण्डौ तथा पोखराबाट आउने यस्ता गाडीलाई पनि यही अवधिमा बजार प्रवेशमा रोक लगाई बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । बिहान ९ देखि बेलुका ७ बजेसम्म बजार क्षेत्रमा मालवाहक गाडीले लोडअनलोड गर्न पाउने छैनन् । यी निर्णय आजदेखि कार्यान्वयन गर्न थालिएको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - १३:०८:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology