Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आज

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आज

रासस

१८, कार्तिक २०८२
देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आज

दमौली (तनहुँ)। तनहुँ, चितवन र नवलपुर जिल्लामा फैलिएको पवित्र तीर्थस्थल देवघाटधाम र गण्डकीको सङ्गमस्थलको धार्मिक महत्व एवं संस्कृतिको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आज देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिँदैछ। नेपाल सन्त समाजको आयोजनामा देवघाट गाउँपालिका र देवघाट क्षेत्र विकास समितिको सहयोगमा यो महोत्सव हुन लागेको हो।

images

महोत्सवको प्रचारप्रसारका लागि सोमबार तनहुँको देवघाट र चितवनको भरतपुरमा मोटरसाइकल र्‍याली गरिएको महेश संस्कृत गुरुकुल देवघाटका प्रधानाचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिए।

देवघाटधामको बेणी सङ्गमबाट सुरु हुने उक्त गण्डकी परिक्रमाले तनहुँतर्फ पशुपतिनाथ, गलेश्वर आश्रम, मणिमुकुन्देश्वर मन्दिर लगायतका धार्मिक स्थलहरूलाई समेट्नेछ। चितवनतर्फ देवघाट बसपार्कको हनुमान मन्दिर, गुम्बा, विश्वशान्ति यज्ञशाला मन्दिर, नारायणगढका हरिहर मन्दिर तथा श्रीराम मन्दिर पुल्चोकसम्म परिक्रमा गरिनेछ।

नवलपुरतर्फ भने गैँडाकोट पुल्चोकको गोपेश्वर महादेव मन्दिर, प्रसिद्ध मौलाकाली भगवती मन्दिर, वेदविद्याश्रम लगायतका धार्मिक केन्द्रहरूको परिक्रमा गरी पुनः तनहुँको मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा आएर समापन हुने कार्यक्रम रहेको पौडेलले बताए।

यस महोत्सवमा देवघाटधामको पूर्ण परिक्रमा, सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलाकाली भगवतीको दर्शन तथा पवित्र नदीहरूको दर्शन गर्दै बैदिक सनातन धर्म र संस्कृतिको प्रवर्द्धन र प्रचारप्रसारको मुख्य कार्यक्रम रहेको छ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले महोत्सवले देवघाटको धार्मिक पर्यटनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्। गलेश्वर आश्रम देवघाटधामका पिठाधीश स्वामी आत्मानन्द गिरी तथा नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले कार्यक्रम सफल बनाउन सबैमा आग्रह गरेका छन्।

images
प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - १०:०६:१९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology