Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने, समयमै नियमित महाधिवेशन गर्न माग

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने, समयमै नियमित महाधिवेशन गर्न माग

images

इच्छाकामना न्युज

३१, आश्विन २०८२
कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्ने, समयमै नियमित महाधिवेशन गर्न माग
images

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। मंगलबारबाट सुरु भएको केन्द्रीय समितिको बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो। पार्टी सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति दिएपछि बिहीबार पहिलो बैठक बसेको हो। बैठकमा बोल्ने अधिकांश सदस्यले अब मंसिरमा नियमित महाधिवेशन नै गर्ने गरी तयारीमा लाग्नुपर्ने प्रस्ताव राखेका छन्।

बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेन—जी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गर्दै अधिकांश सदस्यहरूले पार्टीको १५औं महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए। बैठकमा सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको आक्रोश अधिकांशको थियो। महतले आम नागरिकले पूर्णरूपमा सुरक्षा महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको अवस्थामा सरकारले निर्वाचनको वातावरण तय गर्छ भन्नेमा नेताहरूको आशंका रहेको पनि बताए। कार्यवाहक सभापति खड्काले बैठकको सुरुवातमै समसामयिक राजनीतिका विषयमा बोल्दै पार्टीको नियमित महाधिवेशनमै समझदारी गर्नुपर्ने प्रस्ताव राखेका थिए। 

उनले विशेष महाधिवेशनका लागि विधानमा व्यवस्था भएअनुसार हस्ताक्षर आएको बताउँदै त्यसमा अध्ययन गरेर प्रक्रिया अगाडि बढाउने बताए। उनले भने, ‘मलाई विश्वास छ, विशेष अधिवेशनका मागकर्ता साथीहरूले मंसिर मसान्तभित्रमा नियमित अधिवेशन हुनुपर्छ भन्ने विषय मुख्य हो भन्नु भएकाले यो बैठक टुंगिने बेलासम्म हामी नियमित महाधिवेशन समयमै गर्ने समझदारीमा पुग्नेछौं।’ बैठकको सुरुमै महामन्त्री गगनकुमार थापाले महाधिवेशन प्रतिनिधिहरूले गरेको हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका थिए। उनले राखेको प्रस्तावमा जेन—जी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रमको विषय थियो। त्योसँगै राष्ट्रपति भवनदेखि देशभरका विभिन्न कार्यालयको पुनर्निर्माण सम्बन्धमा कसरी जान सकिन्छ भन्ने प्रस्ताव राखेका थिए। महामन्त्री थापाले क्रियाशील सदस्यताको सम्बन्धमा र अनुशासन समितिको निर्णयको सम्बन्धको विषय पनि छलफलमा समेटेका थिए। 

बैठकको अधिकांश समय महाधिवेशनकै विषयमा केन्द्रित थियो। बैठकमा बोल्दै कांग्रेसका नेता डा. शेखर कोइरालाले नियमित महाधिवेशनबाट मात्रै सबै कार्यकर्ताको माग सम्बोधन गर्न सकिने बताएका छन्। उनले अन्य राजनीतिक दल मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेकाले कांग्रेसले पनि मंसिरमा १५औं महाधिवेशन गर्नुपर्ने बताउँदै अगाडि भने, ‘अन्य राजनीतिक दलहरू मंसिरमा अधिवेशन गर्ने प्रक्रियामा जुटिसकेका छन् भने हामी किन सक्दैनौं ? त्यसकारण म अत्यन्त विनम्रताका साथ यहाँ साथीहरू माझ भन्न चाहन्छु, कांग्रेसलाई नयाँ दिशा र नयाँ सम्भावनाको पार्टी बनाउने हो भने २०८२ मंसिर महिनामा हाम्रो १५औं महाधिवेशन गर्नुपर्छ। महामन्त्रीज्यूले आगामी मंसिरमै महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउनुहुनेछ भन्नेमा म विश्वस्त छु।’

सबैको सम्बोधन र नेतृत्वमा समेत ताजापन नियमित महाधिवेशनबाट मात्र सम्भव हुने उनले बताए। उनले विशेष महाधिवेशनको सन्दर्भमा उठेका विषयहरू पार्टीलाई ऊर्जा प्रदान गर्ने आफूले बुझेको बताए। उनले भने, ‘यो ऐतिहासिक जिम्मेवारी आज हाम्रो अगाडि कर्मकाण्डीमात्र भएर आएको छैन। सही अर्थमा कांग्रेस देशको परिवर्तनको वाहक र नैतिक ओजले उठेको, युवा, ऊर्जा र अनुभवी पिँढीले सँगालेको पार्टी बन्ने विश्वास र भरोसा जगाउनु छ। हामी नियमित अधिवेशनमार्फत यो गर्न सक्छौं भन्ने मेरो दृढ विश्वास छ।’

‘महाधिवेशनबाट आउने परिणामले फागुन २१ गते हुने भनिएको राष्ट्रिय निर्वाचनलाई आम जनताबीच कांग्रेसलाई फेरि एकपटक जागृत गराउनेछ’, कोइरालाले अगाडि भने। उनले पार्टीभित्र एकताको खाँचो रहेको बताउँदै सबैमा विनविनको भावना विकास गर्नुपर्ने बताए। अनुशासन समितिबाट कारबाहीको सिफारिस भएका सबैलाई वर्तमान राजनैतिक परिस्थितिमा उक्त कारबाही फिर्ता गर्न माग गरेका छन्।

बैठककै विषयमा बोल्दै नेता अर्जुननरसिंह केसीले जेन—जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानबिन हुनुपर्ने धारणाहरू आएको बताए। साथै अबको दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्ने विषयमा नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘विशेष महाधिवेशनको विषयमा हस्ताक्षर संकलन गर्नु भनेकै मंसिरमै नियमित अधिवेशन गर्नु हो। पार्टीमा एकजुट हुनुको विकल्प छैन। सबै सहमतिमा आएर अब मंसिरको महाधिवेशनमा लाग्नुपर्छ।’ निर्वाचनमा जाने विषय सुरक्षाको प्रत्याभूति नभई राजनीतिक दलहरू निर्वाचनमा जान नसक्ने उनले स्पष्ट पारे।

केन्द्रीय सदस्य रामहरि खतिवडाले कानुन हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरू लागेको बताए। उनले सरकार संविधानविपरीत बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरूले राखेको उल्लेख गरे। अबको राजनीतिमा दलहरूले जेन—जीका मागहरू सम्बोधन गरेर जान आवश्यक रहेको बताए।  उनले भने, ‘पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्नु आवश्यक छ।’

समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल सुरु भएको छ। ‘महाधिवेशन नियमित नै हुन्छ। समयमै हुन्छ। अहिलेलाई यति नै हो बाँकी केन्द्रीय कमिटी बैठकको निष्कर्षबाट आउँछ’, उनले भने। कांग्रेसमा मंसिरभित्रै महाधिवेशन वा विशेष महाधिवेशनका लागि माग भइरहेको छ।  अन्नपूर्णपोष्टबाट

images
प्रकाशित मिति :आश्विन ३१, २०८२ शुक्रवार - ०८:५०:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology