इच्छाकामना । इच्छाकामना गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ४२९ वटा गाईभैँसीमा कृत्रिम गर्भाधान सेवा प्रदान गरेको छ। गाउँपालिकाको पशुपक्षी शाखाका अनुसार १६८ वटा गाई र २६१ वटा भैँसीमा सेवा दिइएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार वैशाख महिनामा सबैभन्दा धेरै सेवा प्रदान गरिएको थियो। वैशाखमा मात्रै २३ वटा गाई र २७ वटा भैँसीमा कृत्रिम गर्भाधान गरिएको थियो। यस्तै, असार महिनामा सबैभन्दा कम सेवा लिइएको थियो। सो महिनामा ७ वटा गाई र ९ वटा भैँसीमा मात्र सेवा गरिएको थियो।
महिनावार कृत्रिम गर्भाधानको विवरण यसप्रकार छ:
साउन: १९ गाई, १२ भैँसी
भदौ: ८ गाई, २३ भैँसी
असोज: ८ गाई, २१ भैँसी
कात्तिक: १३ गाई, २७ भैँसी
मङ्सिर: ९ गाई, ३१ भैँसी
पुस: १३ गाई, २२ भैँसी
माघ: २३ गाई, १९ भैँसी
फागुन: ११ गाई, ३६ भैँसी
चैत: (उल्लेख छैन)
वैशाख: २३ गाई, २७ भैँसी
जेठ: २३ गाई, १७ भैँसी
असार: ७ गाई, ९ भैँसी
गाउँपालिकाले वडा नं–४ लाई भैँसी पालन र वडा नं–५ लाई गाई पालनका लागि पकेट क्षेत्र बनाउने योजना अघि सारेको छ। कार्यवाहक अध्यक्ष माया सिलवालले हावापानी र भूगोलको आधारमा वडागत रूपमा कृषि क्षेत्रको वर्गीकरण गरी योजनाबद्ध रूपमा अघि बढ्ने जनाइन्।
उनका अनुसार अन्य वडामा पनि पकेट क्षेत्र विकासको कार्य अगाडि बढाइएको छ:
वडा नं–१ र २: तरकारी उत्पादन
वडा नं–३: सुन्तला
वडा नं–६: बाख्रापालन
वडा नं–७: बाख्रासँगै कफी खेती
यसैबीच, पशुपालनमा किसानको क्षमता अभिवृद्धिका लागि १५ जना अगुवा किसानलाई तालिम दिइएको छ। साथै, वडा नं–२ को ठाडोखोला, वल्र्याङ, काउले र मायाटार क्षेत्रमा बाख्रापालनसम्बन्धी तालिम १७७ जनालाई प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय सरकारले पशुपालन तथा कृषि क्षेत्रको विकासमार्फत दुग्धजन्य उत्पादन र मासुजन्य उत्पादनबाट किसानलाई आर्थिक रुपमा सबल बनाउने लक्ष्य लिएको छ।