आँबुखैरेनी । गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले मगर र गुरुङ समुदायको मातृभाषालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यालयको साइनबोर्डमा मगर भाषाको अख्ख लिपि र गुरुङ भाषाको तमू खेमा लिपिमा लेखिएको साइनबोर्ड राखेको छ।
प्रदेश सरकारले हालै मगर र गुरुङ भाषालाई पहिलो र दोस्रो मातृभाषाको रूपमा मान्यता दिने निर्णय र प्रक्रिया सुरु गरेको छ। यस निर्णयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने पहिलो गाउँपालिका बनेको आँबुखैरेनीले उल्लेख्य भूमिका खेलेको छ।
गाउँपालिका अध्यक्ष शुक्र चुमानले मातृभाषा संरक्षणका लागि यस्तो पहलले स्थानीय समुदायमा भाषा र संस्कृतिको पहिचान कायम राख्न मद्दत गर्ने बताएका छन्। यस प्रकारको कदमले भाषा संरक्षण र सांस्कृतिक समृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।
आँबुखैरेनी गाउँपालिकाको यो प्रयास प्रदेशका अन्य स्थानीय तहका लागि समेत उदाहरणीय बनेको छ।