काठमाण्डौ, १५ फागुन । गोरखाको साविक ताक्लुङ गाविस घर भै काठमाण्डौ बसोबास गर्ने युवा व्यवसायी विद्यार्थीहरुको सहभागीतामा स्थापित ताक्लुङ राइजिङ इन्भेष्टमेन्ट प्रालिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौको जमलमा रहेको नमस्ते थकाली किचनमा कम्पनीको तेस्रो साधारणसभा आज सम्पन्न भएको हो।

सभाले कम्पनीका शेयरधनीहरुलाई ३० प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ। यस्तै आज भएको कम्पनीको तेस्रो साधारण सभाले कम्पनीको अध्यक्षमा पूनः सिए जनक थापालाई चयन गरेको छ भने अन्य ८ जनालाई सञ्चालकमा चयन गरेको छ। कम्पनीको अध्यक्षमा पुनः चयन भएपछि अध्यक्ष थापाले आगामी दिनमा कम्पनीले साविक ताक्लुङ गाविसका युवा हरुलाई आर्थिक रुपमा सक्षम बनाउने, व्यवसायी बनाउने, आत्मनिर्भर बनाउने लक्ष्यका साथ कम्पनीको पूजी वृद्वि गरि हस्पिटालिटि, यातायात, कृषि र रियलस्टेटमा लगानी गर्ने योजना रहेको बताउनुभयो। उहाँले गाउँघरका धेरैजसो युवाहरु रोजगारीको लागि विदेसिनु पर्ने बाध्यता रहेको भन्दै भावी दिनमा नेपालमा नै केहि गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने खालको कार्यक्रम छिट्टै ल्याउने योजना रहेको पनि बताउनुभयो।

ताक्लुङ राइजिङ इन्भेष्टमेन्ट प्रा.लि. विषेश गरेर साविकको ताक्लुङ गाविस घर भै काठमाण्डौमा अध्ययनको शिलशिलामा रहेका विद्यार्थीहरुले एकअर्कामा परेको सुखदुःखमा साथ दिनको लागि सुरुवातमा मासिक १ हजार रुपैयाँ संकलन गरि जम्मा भएको पूजीले ३ वर्ष अघि स्थापना गरेको कम्पनी हो। संस्थापक शेयर सदस्य ५८ जना रहेको उक्त कम्पनीले साविकको ताक्लुङ गाविस हालको शहिद लखन गाउँपालिका वडा नं. ४ र ५ का गाउँहरुमा सामाजिक कामहरु गर्नुका साथै काठमाण्डौमा व्यवसाय गर्नेहरुलाई व्यवसायी लोन दिनुका साथै होटल रेष्टुरेण्ट क्याफेहरुमा लगानी गर्ने गर्छ। यस्तै आपतमा परेका ताक्लुङवासीहरुलाई विभिन्न सहयोग पनि गर्ने गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ताक्लुङका विभिन्न क्षेत्रमा सामाजिक कार्य गरी सहयोग गर्नका लागि छुट्टै ताक्लुङ हेल्पिङ हेण्डस् कम्पनी समेत स्थापना गरेको छ।
