इच्छाकामना । राष्ट्रिय युवा संघ नेपाल इच्छाकामना गाउँ कमिटीको पहिलो पूर्ण बैठक इच्छाकामना गाउँपालिका–१, सिराईचुलीको काख हात्तिबाङमा सम्पन्न गरिएको छ। संघका अध्यक्ष आशिष मगरको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा संगठन सुदृढीकरण, युवा परिचालन तथा आगामी योजना निर्माण सम्बन्धी विषयमा गहन छलफल गरिएको थियो।
बैठकपछि पर्यटकीय सम्भावना बोकेको हात्तिबाङ क्षेत्रको सरसफाई कार्यक्रम समेत सञ्चालन गरिएको थियो। कार्यक्रमको नेतृत्व अध्यक्ष आशिष मगरले गरेका थिए। सरसफाई कार्यक्रममा स्थानीय युवाहरूको सक्रिय सहभागिता देखिएको थियो।
कार्यक्रममा विशेष अतिथि रूपमा इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङको उपस्थिति रहेको थियो। अध्यक्ष गुरुङले युवाहरूको योगदानप्रति प्रशंसा व्यक्त गर्दै भने, “युवाहरूको सक्रियता र संलग्नता गाउँ विकासको मेरुदण्ड हो। यस्तो अभियानले गाउँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ।”
संघले आगामी दिनमा नियमित सरसफाई, वातावरण संरक्षण, युवा जागरण तथा सामाजिक विकासका कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।