भरतपुर । बजेटको अभावमा नारायणगढ–मुग्लिन सडकखण्डको २६ किलोमा धसिएको सडक यस आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा १६५ मिटर लामो सडकको आधा भाग धसिएको छ । गत वर्षको असोजमा परेको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो ।
सो क्षेत्रको ८५ मिटर लम्बाइ र तीन दशमलव पाँच मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ । अब बनाउँदा सबै भागलाई एकै साथ बनाउनुपर्ने हुन्छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार यस आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो ।
वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको उनले बताए । सो क्षेत्रको तल्लो भाग र भित्तोतर्फ चट्टान भए पनि कालोपत्रको मुनि घुलनशील माटो रहेको छ । सो ठाउँमा बाहिरबाट कङ्क्रिट पायल र भित्रतर्फ स्टोन पायल राखेर मर्मत गर्नुपर्ने हुन्छ । करिब १८ देखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उनको भनाइ छ ।
सोही अनुसारको डिजाइन तयार गरेर सडक विभागमा पठाइएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका लागि पठाइएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय कटेकाले यसवर्ष काम हुन नसकेको उनले बताए । रू ३२ करोड लागत लाग्ने उक्त कामका लागि आगामी वर्ष बजेट विनियोजन हुने उनको भनाइ छ ।
हाल सडक थप क्षति हुन नदिन ग्याबिन जाली लगाएर अस्थायी रोकथामको काम गरिनेछ । सो ठाउँमा चार मिटर हाराहारी सडक मात्रै बाँकी रहेको छ । त्यसका कारण सवारीसाधन एकतर्फी सञ्चालन हुँदै आएका छन् ।
थप सडक धसिएमा बर्सातमा समस्या हुन सक्ने जोखिम रहेको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्दछन् । रासस