इच्छाकामना, १० जेष्ठ । इच्छाकामना गाउँपालिकाको आयोजना र कर्तव्यनिष्ठ महिला समाजको प्राविधिक सहयोगमा पाँच दिने धुप बनाउने तालिम शनिबारदेखि सुरु भएको छ।
गाउँपालिकाको वडा नं. ५ मा सुरु गरिएको तालिमको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष माया सिलवाल रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि वडा नं. ५ का अध्यक्ष तेजबहादुर शेरचन थिए।
तालिममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको पनि सक्रिय सहभागिता रहेको छ। स्थानीय स्रोत साधनको उपयोग गर्दै स्वरोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ।
प्राविधिक सहयोगदाताको तर्फबाट सहभागीहरूलाई धुप निर्माण सम्बन्धी सीपमूलक ज्ञान दिइनुका साथै व्यावसायिक प्रयोगका लागि आवश्यक तालिम प्रदान गरिने बताइएको छ।
साथै, तालिम पश्चात उत्पादन, प्याकेजिङ र बजारिकरण सम्बन्धी परामर्श पनि दिइने आयोजक संस्थाले जनाएको छ। तालिमले विशेषगरी महिला समूहहरूलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।