काठमाण्डौ, ९ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठन गरेको क्रियाशील सदस्यता छानविन समितिले काम सुरू गरेको जनाएको छ । क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिइएको उक्त समितिको भनाइ छ। समिति संयोजक केन्द्रीय सदस्य रमेश लेखक हुन्। काँग्रेसले १४ औं महाधिवेशनभदौ ७ देखि गर्ने निर्णय गरेको छ। वडा अधिवेशन असारदेखि नै सुरू हुन्छन् ।
अधिवेशन गर्न क्रियाशील सदस्यताको टुंगो लगाइ सक्नुपर्ने हुन्छ। क्रियाशील सदस्य नै तल्ला तहमा अधिवेशनका लागि मतदाता हुन्छन्। अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्रै क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाएको छ। केही जिल्लामा समायोजनकै काम बाँकी छन्।
समितिले क्रियाशीलको विवरण छिटो केन्द्रमा पठाउन जिल्ला कार्यसमितिहरूलाई आग्रह पनि गरेको छ। जिल्लाहरूमा क्रियाशील सदस्यता बारे अहिलेसम्म भएका प्रगति र समस्याबारे जानकारी लिई समाधान गर्न समितिका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ। प्रदेश नम्बर १ र २ मा आनन्दप्रसाद ढुंगाना र जीवन परियारलाई, प्रदीप पौडेल र श्यामकुमार घिमिरेलाई बागमती र गण्डकी, कल्याणकुमार गुरूङ र योगेन्द्र चौधरीलाई लुम्बिनी, कर्णाली र सुदुरपश्चिम अन्तर्गत रहेका जिल्लामा भइरहेका क्रियाशील बारेका प्रगति बारे बुझ्न खटाइएको उक्त समितिले जनाएको छ।