गोरखा । बैदेशिक रोजगार ठगीको आरोपमा गोरखाका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिद लखन गाउँपालिका–७ का ३७ बर्षीय सुरेन्द्र बिक रहेका छन् । प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलवको प्रलोभन देखाई बिभिन्न देशहरु पठाइदिने भन्दै रकम लिएर बिक सम्पर्कविहीन भएका थिए ।
ठगी गरेको भन्दै पीडितले जाहेरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । काठमाडौंबाट आइतवार बिकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।
बिक बिरुद्ध ९७ लाख ५४ हजार बिगो रकम दावी गरिएको छ । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।