देवघाट । देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले विश्व जागरण महाअभियान ट्रष्टद्वारा देवघाटमा जारी महा–महोत्सवलाई लिएर विश्व हिन्दु महासंघको नाममा भईरहेका गतिविधि र अभिव्यक्ति प्रति आपत्ती जनाएका छन् ।
शुक्रबार सामाजिक सन्जालमा लामो स्टाटस राख्दै पौडेलले विश्व हिन्दु महासंघ नामको संस्थालाई रामको बर्को ओढेर रावणको करतुत गर्नेहरू भनेका छन् ।
पौडेलले महासंघलाई आवरण एउटा र अन्तरंग अर्कै भएका मानिसहरू भन्दै त्यस्ता प्रबृत्ति भएकाहरु हाम्रो राजनीति, समाजसेवा र धार्मिक क्षेत्रमा बग्रेल्ती प्रकट हुन थालेको बताएका छन् ।
‘केही त्यस्ता गलत मानिसहरूका कारण तत्क्षेत्रमा इमान, त्याग, निष्ठा र समर्पणका साथ काम गर्नेहरूलाई निक्कै असहज बनाएको देख्न र बुझ्न सकिन्छ तर सही उद्देश्यका साथ ठिक तरिकाले काम गर्नेहरू असहजताबाट विचलित हुने गर्दैनन् ।’ पौडेलले भनेका छन् ‘आफ्ना लक्ष्य, उद्देश्य प्राप्तिका निम्ति आयोजना गरिने उपयुक्त कार्यक्रमहरूमा अनायश केही प्रतिकुलताहरू आउन पनि सक्छन् ।
त्यसमा प्रतिक्रियात्मक बन्न आवश्यक नहुन पनि सक्छ तर आफ्ना संस्थागत काम कार्यवाहीहरूलाई सहभागितामुलक, सम्मतियुक्त, पारदर्शी र त्यसउपर जिम्मेवार र जवाफदेही बन्ने पद्धतिको विकास गर्न भने आवश्यक हुन्छ ।’
‘झण्डै दुई अढाई महिना देखि देवघाटधाममा मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माण गर्ने उद्देश्यका साथ ईश्वरकृष्णजी आवद्ध संस्थाले मकर मेला देवघाट महा–महोत्सव २०८१ आयोजना गरी आम सहभागिताका निम्ति आह्वान गरिएको कार्यक्रम अस्ति माघ १ बाट शुभारम्भ भएको छ ।