Logo

शनिवार, कार्तिक २९ गते २०८३

images
२०८३, कार्तिक २९ गते
images

क्यालिफोर्नियाको भीषण डढेलोमा फसेका दशौँ हजारको उद्धार

क्यालिफोर्नियाको भीषण डढेलोमा फसेका दशौँ हजारको उद्धार

images

इच्छाकामना न्युज

२४, पौष २०८१
क्यालिफोर्नियाको भीषण डढेलोमा फसेका दशौँ हजारको उद्धार
images

काठमाण्डु । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौँ हजार मानिसहरूको उद्धार गरिएको छ ।

अग्निनियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन् ।
विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन् । तर सुक्खा अवस्था र १६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ ।

क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले तीव्र वेगको हावाले अन्यत्र पनि डढेलो फैलिन सक्ने चेतावनी दिएका छन् । मानिसहरू सुरक्षित स्थानमा जाने प्रयास गरिरहँदा ठाउँठाउँमा सवारी आवागमन प्रभावित भएको छ ।

कतिपय मानिसहरू आफ्ना सवारीसाधन छाडेर भागेका छन् । केही सवारीसाधनलाई डोजर प्रयोग गरेर हटाइएको छ । लस एन्जलस अग्निनियन्त्रण विभागकी प्रमुख क्रिस्टिन क्रलीले हवाई निरीक्षण गर्दा आगलागी फैलिएको क्षेत्र १,२६० एकरभन्दा बढी पुगेको बताइन् । उनका अनुसार भीषण हावा, सुक्खा र साना रूख अनि पातपतिङ्गरका कारण आगो अझै फैलिएको छ ।

आगो फैलिएको क्षेत्रमा २५० अग्निनियन्त्रकहरू हेलिकप्टर र दमकलसहित परिचालित छन् । अधिकारीहरूका अनुसार १०,००० भन्दा बढी घर र १३,००० भवन जोखिममा छन् ।

मङ्गलवार सुरु भएको डढेलोले तीव्र हावा र सुक्खा अवस्थाका कारण भयानक बनेको थियो । सान्टा आना नामक शक्तिशाली हुरीले उक्त डढेलोलाई तीव्र गतिमा फैलाएको छ । भिडिओ फुटेजहरूमा प्यासिफिक प्यालिसेड्स क्षेत्रमा घरहरूमा आगो लागेको र मानिसहरू कार छाडेर आगोको लप्काबाट बच्न भागिरहेको देख्न सकिन्छ ।

डढेलोको जोखिम अझै उच्च भएकाले राज्यका अधिकांश क्षेत्रका लागि चेतावनी जारी गरिएको छ । प्यासिफिक प्यालिसेड्स एउटा दुर्गम तर उच्च जनघनत्व भएको क्षेत्र हो । यो प्रशान्त महासागरको सीमामा पर्ने सान्टा मोनिका पर्वतको सीमामा अवस्थित छ । यहाँबाट बाहिरिनका लागि चर्चित प्यासिफिक कोस्ट राजमार्गको प्रयोग गर्नुपर्छ ।

हावाको वेग अझै बढ्ने चेतावनी मौसमसम्बन्धी निकायले दिइएकाले राति पनि आगोको खतरा कायम रहने बताइएको छ ।

विगत केही वर्षहरूमा अमेरिकामा डढेलोको आकार, अवधि र शक्ति नाटकीय ढङ्गले वृद्धि भएको छ । अधिकांश त्यस्ता डढेलो मानवीय गतिविधिका कारण लागेका बताइन्छ । सुक्खा मौसमका कारण क्यालिफोर्नियामा डढेलोका घटना दोहोरिहन्छन् । सन् २०१८ मा उत्तरी क्यालिफोर्नियामा हालसम्मकै खराब डढेलो लागेको थियो ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ११:५७:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology