तनहु, ११ कार्तिक । पृथ्वीराजमार्ग सडक अन्र्तगत तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा छ लेनको सडक बिस्तार कार्य सुरु भएको छ । सडक मापदण्डभित्र रहेका घरटहरा भत्काएपछि करिब एक किलोमिटर सडक बिस्तार कार्य अघि बढाइएको हो ।
दमौली बजार क्षेत्रका ७५ वटा घरटहराका लागि करिब रु.६ करोड मुआव्जा वितरण गरिएको आयोजनाले जनाएको छ ।
सडक किनारका विद्युत र टेलिफोन लगायतका पोल समेत हटाइएपछि निर्वाध रुपमा काम सुचारु भएको छ । बर्षायाम र दसैंको समयमा कामले गति लिन नसकेको हुँदा तिहार लगत्तै गति लिने गरी काम गर्ने योजना बनाइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो ।
मनसुन अवधिभरि कालोपत्रे तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्भर्ट र पर्खाल निर्माण कार्य गरिएको उहाँले बताउनुभयो ।
असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहेकाले कार्य प्रगति सोचे अनुरुप हुन सकेन्,उहाँले भन्नुभयो “अब मौसम राम्रो रहेकाले प्रगति हासिल हुने गरी काम अघि बढाइनेछ। ।”
आयोजनाका अनुसार हालसम्म पूर्वीमा ६८ र पश्चिम खण्डमा करिब ३० प्रतिशत कार्य प्रगति भइसकेको छ । राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्रे भइसकेको छ ।
“पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्रे भइसकेको छ”, पाण्डेले भन्नुभयो, “राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ।”
पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो।
राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो ।
पूर्वी खण्डको लागि ठेक्का छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ ।