काठमाण्डौ, २७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले भोलि काठमाडौंमा गर्ने प्रदर्शनका लागि नेताहरुलाई जिम्मेवारी दिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै नेकपाको प्रचण्ड–नेपाल पक्षले विरोध प्रदर्शन गर्न लागेको हो।पुल्चोक, त्रिपुरेश्वर, माइतीघर, केशरमहल, र जमलबाट विभिन्न नेताहरुको नेतृत्वमा जुलुस निकालिने नेकपाले जानकारी दिएको छ।
पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व स्थायी समिति सदस्य कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्तलगायतले गर्नेछन्। त्रिपुरेश्वर क्षेत्रको नेतृत्व अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल लगायत नेतालाई जिम्मेवारी दिइएको नेकपाले जनाएको छ। प्रचण्डले यो विरोध प्रदर्शनलाई व्यापक बनाउन हिजो काठमाडौंमा आयोजित एक सभाबाट कार्यकर्तालाई निर्देशन दिनुभएको थियो ।
हालै प्रधानमन्त्री ओलीले पनि दरबारमार्गमा सभा गर्नुभएको थियो । उक्त सभामा ३५ हजारजति मानिस भेला भएको भन्दै प्रचण्डले अब आफूहरूले जित्ने वातावरण बन्दै गइसकेको र ओलीले हार्ने अवस्था सिर्जना भइसकेको दावी गर्नुभएको थियो ।