घैरुङ । सहिदलखन गाउँपालिकाले आफ्नो पालिका स्थाई घर भई आसपासका पालिकाका क्याम्पसमा अध्यायन गरिरहेका ३० जना विद्यार्थीहरुलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । गृहजिल्लामै बसेर पढ्ने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप स्टेशनरी सहयोग गरिएको पालिकाले जनाएको छ ।
पालिकाले गोरखा सदरमुकामस्थित द्रव्यशाह बहुमुखी क्याम्पस, गोरखा क्याम्पस र आँबुखैरेनी बजारमा अवस्थित आबुँखैरेनी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई स्टेशनरी सहयोग गरेको हो । द्रव्यशाहबाट १३, गोरखा क्याम्पसबाट ५ र आबुँखैरेनी क्याम्पसका १२ जना गरी जम्मा ३० जनालाई जनही ५ हजारका रुपैँया बराबरको स्टेशनरी सामग्री सहयोग गरिएको पालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले जानकारी दिए ।
‘अहिले १२ कक्षा पास गरेर जिल्ला बाहिर जाने प्रवृत्ति बढ्दो छ’, उनले भने, ‘यस्तो अवस्थामा पालिका आसपास बसेर पढिरहेका विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप सहयोग गरिएको हो ।’ अघिल्लो आर्थिक बर्षको कार्यक्रम अन्तरगत सहयोग वितरण गरिएको उनले बताए । ‘बजेट गत आर्थिक वर्षको हो तर, असारमा सबै क्याम्पसहरुमा बिदा परेकाले साउनमा मात्र स्टेशनरी वितरण गर्न पायौँ’, उनले भने ।
यो आर्थिक वर्षमा पनि स्टेशनरी सहयोग कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाई छ । सहिदलखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, पालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनाल र सम्बन्धित क्याम्पसका क्याम्पस प्रमुख र प्राध्यापकहरुको रोहोवरमा स्टेशनरी खरिद बापतको रकम वितरण गरिएको पालिकाले जनाएको छ ।