देवघाट । तनहुँको देवघाट गाउँपालिकाले आगमी आर्थिक वर्ष २०८१/०८२ का लागि ४५ करोड ५८ लाख ८८ हजार ५ सय रूपैयाँको बजेट पेस गरेको छ । गाउँपालिकाको गाउँ सभा तथा चौधौँ अधिवेशनमा पालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले बजेट पेस गर्नुभएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि तर्जुमा भएको नीति तथा कार्यक्रम अनुसार वार्षिक विकास योजना,कार्यक्रम तथा बजेट तर्जुमा भएको छ ।

“समुन्नत देवघाटको आधारः धार्मिक पर्यटन, कृषि र सम्पन्न पूर्वाधार“ अभियानलाई साकार पार्ने गरी बजेटलाई केन्द्रित गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताएका थिए । बस्ती तथा टोलस्तरबाट प्राप्त सुझाव तथा आयोजना र कार्यक्रमलाई सम्बोधन हुने गरी वडा समितिबाट प्राथमिकता निर्धारण गरी प्राप्त भएका कार्यक्रमलाई बजेटमा समेटि आर्थिक विकासलाई उच्च प्राथमिकता दिई भौतिक पूर्वाधार विकास, सामाजिक विकास, वन, वातावरण तथा सुशासन र संस्थागत विकासको लागि बजेट केन्द्रित गरिएको अध्यक्ष थापाले बताए ।