कुरिनटार । यतिबेला चालु आर्थिक वर्षको अन्तिम महिना सुरु भैसकेको छ । यहिबेला स्थानीय तहरुहरुले धमाधम वर्षको अन्तिम महिनामा बजेट सकाउने नाममा विभिन्न शिर्षकमा तालिम सञ्चालन गरिरहेको छ ।
तालिमको उद्देश्य विपन्न वर्ग तथा बेरोजगारहरुलाई सीप सिकाउने र रोजगारीका लागि योग्य व्यक्ति बनाउने तथा स्वरोजगार बनाई आयआर्जन गरी जिविकोपार्जनका लागि सक्षम बनाउनुपर्ने हो । तर इच्छाकामना गाउँपालिकाले केहि दिन अघि सञ्चालन गरेको महिलाहरुको लागि हलुका सवारी चालक तालिममा थुप्रै बेतिथि पाईएको छ ।
उक्त तालिम लिइरहेको अधिकांश महिलाहरु विपन्न वर्ग तथा बेरोजगार नभै महिनामै लाखौ कमाउने व्यवसायी, एमाले, काँग्रेस, माओवादी, रास्वपा जस्ता पार्टीका स्थानीय तथा जिल्ला स्तरीय महिला नेतृ, नेताका श्रीमती, जनप्रतिनिधिका श्रीमतीहरु रहेको पाईएको छ ।
तालिममा सहभागीहरु सरसर्ती हेर्दा तालिमको अवसरमा पहुँचवाला र हुनेखानेहरुले राम्रै रजाई गरेको पाइन्छ । यो वेथितिमा अर्को रोचक कुरा त के छन् भने गाउँपालिका भरिका महिलाहरुलाई सहभागी गराउनुपर्ने तालिममा सहभागी महिलाहरु वाड नम्बर ४ र ५ का मात्र छन् । त्यो पनि सीमित बजार क्षेत्रका पहुँचवालाहरुले मात्र अवसर पाएका छन् ।
तालिममा यस्ता थुप्रै वेथितिहरु देखिएपछि अहिले स्थानीयहरुबाट सामाजिक सञ्जालमा यसको व्यापक विरोध भइरहेको छ । अन्य वडाका स्थानीयहरुले थाहा नै नपाएको गुनासो छ ।
तर गाउँपालिका उपाध्यक्ष माया सिलवालले भने मागका आधारमा तालिम सञ्चालन गरिएको दाबी गर्नुभएको छ । उहाँले सबै वडा मार्फत तालिममा सहभागी हुनका लागि निवेदन दिन आग्रह गरेपनि अन्य वडाबाट सहभागी नभएको उहाँको दाबी छ । हामीले सुचना नै प्रकाशित गरेर सहभागी हुन आग्रह गरेका हौँ उपाध्यक्ष सिलवालले भन्नुभयो, वाड नम्बर ४ र ५ बाट मात्र निवेदन आएको हो ।
यद्यपी उपाध्यक्ष सिलवालले दावी गरेको जस्तो तालिमका लागि सार्वजनिक सूचना समेत जारी भएको देखिदैन । तालिममा भएको वेथिति बारे प्रतिक्रिया लिन उपाध्यक्ष सिलवालसँग सम्पर्क गर्दा गाउँपालिकाले जारी गरिएको सूचना हामीलाई पठाएको छ तर उक्त सूचना गाउँपालिकाको आधिकारीक फेसबुक पेज र वेबसाईट काही पनि सार्वजनिक गरिएको छैन भने कुनैपनि स्थानीय सञ्चारमाध्यममा समेत प्रकाशन प्रशारण गरेको छैन ।
