जलविरे । शिलान्यास भएको झण्डै ६ वर्ष पछि बल्ल चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरि समुद्घाटन गरिएको भएको छ । २०७५ साल भदौमा शिलान्यास भै निर्माण सुरु गरिएको भवन केहि दिन अघि मात्र निर्माण सम्पन्न भै आइतबार एक कार्यक्रमका बिच समुद्घाटन गरिएको हो ।

करिब १ करोड हाराहारीमा खर्च गरी निर्माण गरिएको नवनिर्मित वडा कार्यालय भवनको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले रिबन काटेर समुद्घाटन गरिएको हो । नवनिर्मित भवनको समुद्घाटन गर्दै जिसस प्रमुख अधिकारीले वडा कार्यालय नयाँ भवनमा सरे सँगै सेवाग्राहीको मन जित्ने गरी सहज सरल रुपमा उत्कृष्ट सेवा दिन काम होस् भनी शुभकामना दिएका छन् ।
भवन निर्माणको काम ६ वर्ष अघि नै थालिएको भए पनि जग्गाको स्वामित्वको कुरा नमिल्दा लामो समयदेखि अलपत्र परेको थियो । पछिल्लो समय २०७९ सालमा नयाँ जनप्रतिनिधि आएसँगै भवन निर्माणको कामले तिव्रता पाएको थियो । जसको परिणाम अलपत्र परेको वडा कार्यालय भवन निर्माण सम्पन्न गर्न सकिएको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताए ।

‘ढिलै भएपनि वडा कार्यालयको नयाँ भवन निर्माण सम्पन्न गराई सेवा सुरु गराउन हामी सफल भयौ’ उनले भने ‘अब भवन मात्र नभै स्थानीय नागरिकहरुलाई राम्रो चुस्त दुरुस्त रुपमा सेवा दिन सकियो भने राम्रो हुन्छ ।’
यस्तै भवन निर्माण उपभोक्ता समितिका सचिव ललिमन गुरुङले कार्यक्रममा भवन निर्माणको लागि उपभोक्ता समिति मार्फत भएको आम्दानी खर्च विवरण प्रस्तुत गरिएको थियो भने कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले भवन निर्माणका लागि निर्माण व्यवसायी मार्फत ६६ लाख र उपभोक्ता समिति मार्फत ३५ लाख गरि १ करोड १ लाख रुपैयाँ खर्च भएको बताए ।

कार्यक्रममा जग्गादाता र पुर्व वडाध्यक्ष भुपेन्द्र चेपाङलाई सम्मान समेत गरिएको थियो भने गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, वडा नं. ३ का वडाध्यक्ष नर बहादुर नेपाल, वडा नं. ४ का वडाध्यक्ष रुद्र उप्रेती, वडा नं. ५ का वडाध्यक्ष तेज बहादुर शेरचन लगायतको कार्यक्रममा सहभागीता रहेको थियो ।