घैरुङ । शहिद लखन गाउँपालिकाभित्र रहेका सामुदायिक बिद्यालयका उत्कृष्ट अभिभावकहरु सम्मानित भएका छन् । बिद्यालयको सर्वाङ्गिण शैक्षिक बिकासमा खेलेको भूमिकाको आधारमा उनीहरुलाई सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
प्राथमिक बिद्यालयहरु तर्फ एक जनाका दरले र आधारभूत तथा माध्यमिक तहतर्फ दुई जनाका दरले अभिभावकहरुलाई सम्मान गरिएको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । ३० वटा प्राथमिक बिद्यालयका ३० जना र बाँकी आधारभूत र मावि तहबाट ३२ जना अभिभावकहरु सम्मानित भएको उनले जानकारी दिए ।
‘यो हाम्रो बार्षिक स्वीकृत कार्यक्रम नै हो,’ खनालले भने, ‘निरन्तर बिद्यालय जाने, बिद्यालयलाई सकारात्मक सुझाव दिने, बालबालिकालाई नियमित बिद्यालय पठाउने, बिद्यालय सुधारका लागी आफू पनि प्रयास गर्ने र अरुलाई पनि उत्प्रेरणा दिने अभिभावकहरुलाई छनोट गरेर सम्मान गरेका हौ ।’
शुक्रवार एक कार्यक्रमकाबीच दोसल्ला ओडाएर कदर पत्रले उनीहरुलाई सम्मान गरिएको हो । बिद्यालय व्यवस्थापन समिति र शिक्षकहरुको संयुक्त बैठकले सम्मानित हुनेहरुको नाम सिफारिस गरेको थियो । बिद्यालयमा अभिभावको प्रवेश होस् भन्ने उदेश्य सहित सम्मान कार्यक्रम ल्याइएको पालिकाले जनाएको छ ।