कुरिनटार । चितवनको इच्छाकामना गाउँपालिकाले पछिल्लो आर्थिक वर्षहरुमा बेरुजु रकम घटाउदै लगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं प्रतिवेदन अनुसार पछिल्लो आर्थिक वर्ष २०७९।०८० को लेखापरीक्षणमा गाउँपालिकाको बेरुजु रकम अघिल्लो आर्थिक वर्षमा भन्दा घटेको पाईएको हो ।
महालेखाको प्रतिवेदन अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०७९।०८० मा १ अर्ब २३ करोड ४४ लाख १९ हजार रुपैयाँको लेखापरीक्षण गर्दा ०.९१ प्रतिशत अर्थात १ करोड ११ लाख ८८ हजार रुपैयाँ बेरुजु देखाएको हो । यो रकम अघिल्लो आर्थिक वर्ष २०७८।०७९ मा १ करोड ३५ लाख ५ हजार थियो । जसअनुसार अघिल्लो आवमा भन्दा पछिल्लो आवमा २३ लाख १७ हजार रुपैयाँ कम बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार जिल्लाको ७ पालिका मध्य कम बेरुजु हुनेमा इच्छाकामना चौथो स्थानमा छ । जिल्लामा सबैभन्दा कम बेरुजु भरतपुर महानगरपालिकामा देखिएको छ भने सबैभन्दा बढि राप्ती नगरपालिकामा देखिएको छ ।
इच्छाकामना गाउँपालिका पछिल्लो समय बेरुजु शुन्य अभियानमा लागिपरेकोले यो नतिजा आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रतिक्रिया दिए । उनले भने ‘पालिकाका जनप्रतिनिधि, कर्मचारीहरु सबै निरन्तर लागिपरिरहेका छौं, कसरी हुन्छ आगामी वर्ष अझै बेरुजु घटाउने गरि हामी मिलेर काम गरिरहेका छौं ।