ताक्लुङ । गोरखाको सहिद लखन गाउँपालिकाका विपन्न तथा सिमान्तकृत महिलाहरुले समुहमा मिलेर गाउँमै सेनेटरी प्याड उत्पादन गर्न सुरु गरेका छन् । व्यवसायिक सिपमुलक तालिमबाट सिकेर महिलाहरुले सामुहिक रुपमा लगानी गरी प्याड उत्पादन गर्न थालेको सहिद लखन गाउँपालिका–५, स्थित नवपालुवा कोसिस महिला समुहकी अध्यक्ष गीता परियारले जानकारी दिनुभयो ।
‘‘नेपाल दलित महिला उत्थान संघ (एड्वान) प्रदान गरेको सेनेटरी प्याड बनाउने तालिम लिएपछि गाउँमै प्याड उत्पादन गर्न सकिन्छ भन्ने लाग्यो, उहाँले भन्नुभयो, ‘‘तालिमसंगै वडा कार्यालय र एड्वानको समेत आर्थिक सहयोगमा समुहमा आवद्ध महिलाहरुले पनि लगानी गरेर आवश्यक मेसिन खरिद गरी प्याड उत्पादन गर्न सुरु गरिएको हो ।’’
‘‘सिप सिकेपछि रोजगारी र आयआर्जनसंग जोडिन सकिन्छ भन्ने लागेर हामी समुहमा मिलेर मिलेर तालिम लिएका थियौँ, परियारले भन्नुभयो, ‘‘त्यही तालिमबाट सिप अहिले सिकेर अहिले आवश्यक उपकरण खरिद गरी सानो उद्योग खोलेर ‘नवपालुवा सेनेटरी प्याड’ उत्पादन गर्न थालेसंगै आयआर्जन पनि हुन थालेको छ ।’’ उद्योगबाट नवपालुका कोसिस महिला समुहमा आबद्ध २१ जना महिलाहरु प्रत्यक्ष रुपमा आयआर्जनसंग जोडिन पुगेको उहाँको भनाई छ ।
उद्योगमा उत्पादन गरिएका प्याड स्थानीय बजारमा बिक्री गर्न समेत थालिएको छ । ‘‘भर्खरै मात्र उत्पादन थालेकाले उत्पादन भएजत्ति सवै बजारमा बिक्री हुने गरेको छ, परियारले भन्नुभयो, ‘‘अहिलेसम्म उद्योगमा करिब २ हजार थान प्याड उत्पादन गरिसकिएको छ, सवै स्थानीय बजारमा नै खपत भएको छ ।’’ कतिपय स्थानीय व्यापारीले उद्योगमै आएर पनि बिक्रीका लागि किनेर लैजान थालेको उहाँको भनाई छ ।
‘‘फागुन महिना नै उत्पादन सुरु गरी बजारमा पठाउने तयारी भएपनि प्याडको बाहिरीकभर आउन अलि ढिलो भयो, उहाँले भन्नुभयो, उत्पादन त माघ महिनाबाट नै सुरु गरिएको हो ।’’ उद्योगमा जोडिएका समुहका सदस्यहरु पालैपालो उद्योगको काममा खटिने गरेको उहाँको भनाई छ ।
‘‘समुहका सवैजना एकैचोटी जम्मा हुन भ्याउदैनन्, पालैपालो समय मिलाएर काम गदै आएका छौ, परियारले भन्नुभयो, ‘‘दैनिक पाँचसात जना नियमित रुपमा जम्मा भएर प्याड उत्पादनको काम गर्ने गर्छौ ।’’ उद्योगमा पाँच हजार थान भन्दाबढी प्याड ¥यापिङ गरेर प्याकिङका लागि तयारी अवस्था रहेको उहाँको भनाई छ । प्याकिङका लागि तयारी अवस्थामा रहेको प्याड पनि केहीदिनमै कभरमा राखेर बजार पठाउने तयारी भइरहेको छ ।
समुहले ठूलो मात्रा प्याड उत्पादन गरी त्यसको बजार व्यवस्थपन गर्न गाउँपालिकासंग पनि आवश्यक समन्वय गरिरहेको परियारले जानकारी दिनुभयो । ‘‘अहिले पालिकाले बाहिरबाट खरिद गरेर सामुदायिक विद्यालयहरुमा निशुल्क प्याड उपलब्ध गराउँदै आएको छ, उहाँले भन्नुभयो, ‘‘हामीले समुहले उत्पादन गरेको प्याड खरिद गर्ने व्यवस्था गरिदिन अनुरोध पनि गरेका छौ ।’’
उद्योगमा अहिले प्रयोग गरिएको मेसिनले प्रतिमिनेट ३० थान सेनेटरी प्याड उत्पादन गर्नसक्ने उहाँको भनाई छ । ‘‘नियमित रुपमा उत्पादन गर्न सकियो भने जिल्ला भित्रका अन्य पालिकाहरुलाई पु¥याउन सक्छौ भन्ने लागेको छ, परियारले भन्नुभयो, ‘‘तत्कालका लागि सेनेटरी प्याडको कभर चितवनबाट छपाई गरेर ल्याउने गरेका छौ ।’’
उत्पादित प्याड परीक्षणका लागि बजारमा ५० रुपैया प्रति प्याकेटका दरले बिक्री गर्न थालिएको छ । ‘‘बाहिरबाट ल्याएको सेनेटरी प्याड अहिले स्थानीय बजारमा प्रति प्याकेट ७० रुपैयामा बिक्री हुँदै आएको छ, उहाँले भन्नुभयो, हामीले उत्पादन गरेको सेनेटरी प्याड होलसेलमा प्रति प्याकेट ५५ देखि ६० रुपैया मूल्य निर्धारण गर्ने तयारी भइरहेको छ ।’’
सहिद लखन गाउँपालिकाका लागि पर्याप्त उत्पादन भएपछि थप उत्पादन गरी छिमेकी गण्डकी गाउँपालिकामा बजार पु¥याउने लक्ष्य समुहको रहेको छ । उद्योग सञ्चालनका लागि अहिलेसम्म १५ लाख ५० हजार रुपैया भन्दाबढी लगानी भइसकेको छ । सहिद लखन गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष चन्द्र रानामगरले समुहलाई उद्योग सञ्चालनका लागि ताक्लुङमा रहेको सामुदायिक भवन उपलब्ध गराइएको बताउनुभयो ।
महिला समुहले भर्खरैमात्र उत्पादन सुरु गरेकाले त्यसको बजारीकरणका लागि आवश्यक पहल स्थानीय सरकारले पनि गरिरहेको छ, उहाँले भन्नुभयो, ‘‘उद्योगबाट प्रत्यक्ष रुपमा २१ जना महिलाहरु आयआर्जनसंग जोडिने अवसर प्राप्त भएको छ, यो अत्यन्तै सकारात्मक कार्य हो ।’’
पहिलो चरणमा समुहले उत्पादन गरेको प्याड स्थानीय पालिका भित्र उत्पादन पु¥याउने लक्ष्य रहेको अध्यक्ष रानामगरले बताउनुभयो । समुहले उत्पादन गर्न थालेको सेनेटरी प्याड अहिले बजारमा पाइने सवै गुणस्तरका सेनेटरी प्याडसंग प्रतिस्पर्धा गर्नसक्ने खालको गुणस्तरीय प्याड रहेको छ ।