Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

कांग्रेसका एकपछि अर्को नेता कठघरामा, संकटमा देउवा

कांग्रेसका एकपछि अर्को नेता कठघरामा, संकटमा देउवा

images

इच्छाकामना न्युज

१९, माघ २०८०
कांग्रेसका एकपछि अर्को नेता कठघरामा, संकटमा देउवा
images

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दाहिने हात मानिएका बालकृष्ण खाण भुटानी शरणार्थी काण्डमा डामिएपछि उनले अदालतबाट रिहाइ पाए पनि सार्वजनिक रुपमा मुख देखाउन सकेका छैनन् । मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन नै छ ।

कांग्रेसकै अर्का नेता विजयकुमार गच्छदार बालुवाटारको जग्गा घोटाला काण्डमा विशेष अदालतको कठघरामा बयान दिइरहेका छन् । उनी आफूले संविधान निर्माणमा अगुवाइ गरेको भनेर घटनालाई राजनीतिक रङ दिन खोजिरहेका छन् ।

ठीक यही बेला कांग्रेस सांसद विनोद चौधरीको व्यापारिक घराना सीआईबीको छानबिनमा तानिएको छ । बाँसबारीको छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोप चौधरी समूहका सदस्यहरुमाथि लागेको छ । अरुणकुमार चौधरी र अरु केही व्यक्ति त थुनामा गइसकेका छन् । अब विनोद चौधरी र वसन्त चौधरी बाँकी छन् । 

उता स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको छ । अख्तियारले बारम्बार ताकेता गर्दा पनि उनीहरुले उपस्थित हुन आलटाल गरेका छन् । भलै अख्तियारले उनीहरुलाई भागेर जान नसक्ने गरी घेरा हालिसकेको छ ।

बस्नेत बहालवाला मन्त्री भएकाले प्रधानमन्त्रीको प्रतिष्ठाका लागि मात्र नसमातेको, यदि उनले आफै उपस्थित हुन मानेनन् भने प्रधानमन्त्रीसँगै कुरा गरेर पक्राउ गर्ने योजना अख्तियारको छ । आफ्नो प्रतिष्ठा जोगाउने हो भने प्रधानमन्त्रीले बस्नेतलाई पक्राउअघि नै बर्खास्त गर्नुपर्ने हुन्छ ।

पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको सबैभन्दा निकटस्थ नेताहरु एकपछि अर्को गरी आपराधिक अभियोगमा पक्राउ परी मुद्दाको सामना गर्नुपर्ने अवस्था आएको छ । यो भनेको उनको राजनीतिक आधार भत्किँदै जानु हो । यसै पनि कांग्रेसभित्रै देउवाविरुद्ध शेखर कोइराला, गगन थापा र कृष्ण सिटौलाको अघोषित घेराबन्दी चलिरहेको छ ।

यसमा विश्वप्रकाश शर्मा पनि मिसिएका छन् । आगामी केही दिनमा अरु नेताहरु पनि मिसिने छन् । यो विषम परिस्थितिका बारेमा अब देउवासँग कुनै विवेकपूर्ण तरिकाले छलफल र परामर्श गर्ने मान्छे छैनन् । कुनै औत्यिपूर्ण र युक्तिसंगत उपाय दिने मान्छे छैनन् । आफ्नो स्वार्थका लागि भेला भएकाहरुको झुण्ड मात्र देउवासँग छ । उनीलाई निःस्वार्थ साथ दिएका एक मात्र नेता प्रदीप गिरी थिए । उनी बितेर गइसके । 

यस्तो एक्लो र असहाय अवस्थामा पुगेका देउवाका लागि हालको सरकार पनि निल्नु न ओकल्नु भएको छ । उनको पार्टीभित्रै पृष्ठभूमिबाट कुन शक्तिले खेलेको छ भन्ने भेउ पाउन उनलाई मुस्किल परेको छ । डा. आरजु देउवाले संसदीय समितिमा बाँदर धपाउने उपायको चर्चा खूब गर्छिन् तर आफ्नो वरिपरि भेला भएका स्वार्थीहरुको झुन्डले कुन बेला आफ्नो परिवारै तलबितल पारिदिन्छ भनेर उनले सोचेको देखिँदैन । 

पार्टीभित्रको असहजता छल्न देउवाले महासमिति बैठक तीनचारपटक सारिसके । कहिले तयारी नपुगेको भनेर त कहिले काठमाडौँमा जाडो बढेको कारण देखाएर । अहिले पनि उनी यो बैठक गराउने मुडमा छैनन् । छोरा जयवीरको जन्तले महासमिति बैठक अरु केही महिना पर धकेलिएछ भने पनि अचम्म मान्नुपर्दैन । 

आखिर जे भए पनि देउवाले अहिलेसम्म जोजोलाई विश्वास गरेर र अवसरमा प्राथमिकता दिए, ती सबैले आफ्नो दुनो सोझ्याए । उनले इमानदारीपूर्वक वचनको पक्का भएर शक्तिको साझेदारी गरेकै हुन् । पदको बाँडफाँट गरेकै हुन् । तर, अहिले सबैतिरबाट उनको शक्ति क्षीण हुने अवस्था आएको छ ।

images
प्रकाशित मिति :माघ १९, २०८० शुक्रवार - ०९:२७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology