देवघाट । देशको मध्यभागमा पर्ने पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम ऐतिहासिक,पौराणिक,साँस्कृतिक एवं पर्यटकीय महत्त्व बोकेको एक स्थल हो । विश्वमै पवित्र तिर्थस्थलको रूपमा परिचित धार्मिक स्थल देवघाटधाममा रहेको त्रिशूली र कालिगणडकीको संगमस्थल वेणी संगममा हरेक वर्ष बृहत् रूपमा माघे संक्रान्ति मेला लाग्दै आइरहेको छ । सो माघे संक्रान्ति मेलाको लागि मेला व्यवस्थापन मूल समितिद्वारा शनिबार मेलाको पुर्व तयारीको बारेमा जानकारी दिन पत्रकार सम्मेलन गरिएको हो ।
उक्त पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति प्रस्तुत गर्दै देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले माघेसक्रान्ति मेलाको तयारी तिव्र रूपमा अगाडि बढेको जानकारी दिदैँ मेलालाई सव्यभव्य रूपमा अगाडि बढाउन सम्पूर्ण देवघाटवासीहरूको हातेमालो आवश्यक रहेको बताउनु भयो । बरालले देवघाटमा लाग्ने माघेसंक्रान्ति मेला देवघाटकै एउटा गौरवको रूपमा लाग्दै आएको जानकारी दिदैँ अघिल्लो वर्षहरूमा भन्दा यस वर्ष देवघाटधाममा बढि भक्तजन पाँच लाख तिर्थयात्रीहरू भित्रीने अनुमान गएको छ ।
माघेसङ्क्रान्तिका दिन रामनगर, ठिमुरा र दासढुङ्गाबाट देवघाट प्रवेश गर्ने र वागीश्वरी हुँदै आँपटारी भएर फर्कने व्यवस्था मिलाइएको छ । देवघाटमा साना सवारीसाधन पार्किङका लागि सीताराम संस्कृत माविको कम्पाउन्ड र ठूला सवारीसाधनलाई दाहसंस्कार प्रवेशद्वारअगाडि पार्किङ स्थलको व्यवस्था गरिएको क्षेत्र बिकास समितिका निर्देशक बरालले बताए ।
पार्किङ गर्दा साइकलको १० रूपैयाँ, मोटरसाइकलको २० रूपैयाँ, कार/जिप/भ्यानको ५० रूपैयाँ र ठूला सवारीसाधनको १०० रूपैयाँ शुल्क उठाउने समितिको योजना छ । नदी वारपार गर्दा डुङ्गा र ¥याफ्टिङको एकतर्फी भाडा ५० रूपैयाँ निर्धारण गरिएको छ । आकस्मिक उद्धारका लागि दुईवटा काठका डुङ्गा, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र नेपाली सेनाको नयाँ सबुज गणबाट गरी दुई/दुईवटा ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले जानकारी दिए ।
मेलामा सुरक्षा व्यवस्था मिलाउन बागमती प्रदेश प्रहरीबाट १७८ जना, जिल्ला प्रहरी कार्यालय चितवनबाट १०० जना, ५० जना सशस्त्र र ३० भन्दा बढी नेपाली सेना परिचालन हुनेछन् । तनहुँतर्फबाट करिब १४५ जना सुरक्षाकर्मी परिचालन गरिने,झोलुङ्गे पुलमा एकपटकमा सय जनालाई एकतर्फीरुपमा प्रवेश अनुमति दिइने र झोलुङ्गे पुल जीर्ण भइसकेकाले माघेसङ्क्रान्तिलाई मध्यनजर गरी दुई महिनाअघि मर्मत भइसकेको अध्यक्ष रानामगरले बताए। गलेश्वर आश्रमका पीठाधीश ब्रह्मनिष्ठ अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको विषयमा झोलुङ्गे पुलमा भक्तजनको चाप घटाउन नदीमा चल्ने डुङ्गाको शुल्क घटाउन सुझाव दिए ।
जीर्ण भइसकेको झोलुङ्गे पुलमा भक्तजनको प्रवेश अत्यधिक हुन पुगे अप्रिय घटना हुन सक्ने भन्दै यसतर्फ विशेष सचेत हुन उनले मेला व्यवस्थापन समितिलाई आग्रह गरे । ‘झोलुङ्गे पुलमा भक्तजनको भार पर्ने देखिन्छ । नदीमा चल्ने डुङ्गाको शुल्क घटाउन सके पुलको भार कम गर्न सकिन्छ’, उनले भने । सो सम्मेलनमा मेला मूल व्यवस्थापन समितिका पदाधिकारीहरू,स्वयंसेवक परिचालन उप-समितिका संयोजक होम बहादुर भारती,कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ,महिला चेन्जीङ्ग रुमाकी संयोजक राधा खनाल,मधुबन सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष डिल्लीराम गिरी ,गलेश्वर आश्रमका व्यवस्थापक महेन्द्र प्याकुरेल लगाएत चितवन तथा देवघाट तनहुँ तर्फका पत्रकार हरुको व्यापक उपस्थिति रहेकोे थियो । उक्त कार्यक्रम सहजीकरण पुष्प राज पौडेलले गर्नु भएको थियो ।