आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले स्थापना गरि एक वर्ष अघि सेवा सूचारु गरेको आँबुखैरेनी अस्पताल औपचारिक उद्घाटन भै संचालनमा आएको छ । गत वर्ष मंसिर १ गतेदेखि अनौपचारिक रुपमा संचालनमा आएको अस्पतालको आज एक कार्यक्रमको बिच कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभयो ।

अस्पताल उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आँबुखैरेनी अस्पताल रणनैतिक महत्वको अस्पताल भएको बताउनुभयो । आँबुखैरेनीमा स्थापना भएपनि तनहुँ जिल्लाको अलावा गोरखा र चितवनका स्थानीय तहका नागरिकहरुले समेत सेवा लिने स्थान भएकोले यसको आवश्यकता र महत्व छुट्टै रहेको उहाँले बताउनुभयो । ‘यसैले यो अस्पताललाई उप क्षेत्रीय अस्पतालको रुपमा विकाश गर्न आवश्यक देखिन्छ’ –उहाँले भन्नुभयो ।
यस्तै आँबुखैरेनी अस्पताललाई ट्रमा सेन्टर सहित सुविधा सम्पन्न अस्पतालको रुपमा अपग्रेड गर्न आवश्यकता रहेकोले त्यसका लागि आफुले छलफल चालाउने उहाँले बताउनुभयो ।

यसैगरी कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनुभएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आँबुखैरेनी अस्पतालमा अपरेशन सेवा सूचारु गराउनका लागि आवश्यक अपरेशन सहितको टेबल व्यवस्थापनका लागि प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले अस्पतालको लागि निःशुल्क डायलसिस सेवा सुरु गर्नका लागि थप २ थान डायलसिस मेसिन र मेजर अपरेशनका लागि आवश्यक सामाग्री व्यवस्थापन गर्न कठिन भएकोले सहयोग गरिदिन प्रदेश र संघिय सरकारलाई आग्रह गर्नुभयो ।