काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र बढ्दो विवादका बीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ।
अध्यक्ष डा. बद्री केसी र अर्का अध्यक्ष आरके शर्माबीच बिहीबार साँझ भेटवार्ता भएको हो।
भेटका क्रममा डा. केसीले मिलेर जान शर्मालाई प्रस्ताव गरेका छन्। केसीले निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउन प्रस्ताव गरेको बताइएको छ।
तर, शर्माले पुनर्निर्वाचन नभएसम्म अरू विकल्पमा सोच्न नसकिने स्पष्ट जवाफ फर्काएका छन्।
साथसाथै शर्माले पुनर्निर्वाचनका लागि केसीले विज्ञप्ति निकालेर आए आफूले साथीहरूसँग छलफल गर्ने समेत बताएका छन्।
‘भेटमा मैले निर्वाचन त्रुटिपूर्ण रह्यो, पुन: निर्वाचन भयो भने सोच्न सकिन्छ, यसको अरू विकल्प छैन भनेर स्पष्ट कुरा राखेको छु,’ केसीसँगको भेटपछि शर्माले भने, ‘२० तारिखको सम्झौता कार्यान्वयन नहुँदा बाध्य भएर हामीले वैधानिक ढंगले कार्यक्रम गरेर मेरो नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेका छौं। एनआरएनएको माया उहाँमा छ भने पुन:निर्वाचनका लागि तयार हुनुपर्छ।’
निर्वाचन परिणाममा धेरै त्रुटि भेटिएको र आम जनमानसमा पनि विश्वास टुसकेकेकाले एनआरएनएलाई पुरानै शाखमा फर्काउन पुन: निर्वाचनको विकल्प नभएको उनको भनाइ छ।
निर्वाचन प्रक्रियामा त्रुटि भएको कुरा केसीले पनि विज्ञप्तिमा स्वीकार गरिसकेको विषय भएको शर्माको भनाइ थियो।
आमजनताले पनि त्यही कुरा स्वीकारेको भन्दै शर्माले त्रुटिपूर्ण निर्वाचन भइसकेपछि अरू विकल्प सोच्न नसकिने दोहोर्याए।
राजधानीको ठमेलस्थित हिमालयन जाभामा करिब ३० मिनेट लामो भेटका क्रममा केसीले मिलेर जाने प्रस्ताव गरे पनि अहिलेको अवस्थामा मुल मुद्दा सम्बोधन हुन नसकेकाले शर्माले स्वीकार गर्ने कुरा नभएको एनआरएनएका नेता डिबी क्षेत्रीले जानकारी दिए।
शर्मासँग भेटका लागि केसी एक्लै पुगेका थिए। यस्तै शर्मासँगै भने उनका चुनावी कमाण्डर समेत रहेका क्षेत्री पनि पुगेका थिए।
‘म र आरके शर्माले चुनावमा अनियमितता भयो, त्यसलाई सच्याएर जानु भनेको पुन: निर्वाचन हो भन्ने कुरा स्पष्ट राखेका छौं,’ क्षेत्रीले भने, ‘यद्यपि, हामीहरूबीचमा कुनै समझदारी बन्न सकेन।’
कात्तिक ३ गते (अक्टोबर २०) निर्वाचन परिणामको विषयमा प्रश्न उठेपछि केसीसहित कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए।
तर, त्यसको भोलिपल्टै एकाएक केसी विजयी भएको घोषणा गरेर अध्यक्षको सपथ गराइएको थियो।
सहमतिअनुसार १५ दिनभित्र निर्वाचनमा भएको भनिएको धाँधलीबारे छानबिन गर्ने र त्यसबारे आउने रिपोर्टका आधारमा अघि बढ्ने भनिए पनि केसीले एकाएक सपथ लिएपछि शर्मा समूह चिढिएको थियो।
लगत्तै अध्यक्षका अर्का उम्मेदवार महेश श्रेष्ठ समेतको समर्थनमा केसीइतर पक्षले महाधिवेशनको बाँकी प्रक्रिया पूरा गरेर आरके शर्मालाई अध्यक्ष चयन गरेको थियो। केसी अवैध बाटोबाट अध्यक्ष चुनिएको र आफूहरू नै आधिकारिक रहेको शर्मा पक्षधरले बताउँदै आएको छ।
कात्तिक २ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम घोषणाको क्रममा देखा परेको प्राविधिक त्रुटिका कारण उत्पन्न परिस्थितिलाई ध्यानमा निर्वाचनका सम्पूर्ण कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको उल्लेख थियो।
जसमा केसीको समेत हस्तक्षर थियो। भेरो नामक अनलाइन भोटिङमार्फत भएको एनआरएनए निर्वाचनमा सिस्टम ह्याक गरेर मतपरिणाम तलमाथि बनाइएको असन्तुष्ट पक्षको दाबी छ।