देवघाट । देवघाट गाउँपालिकामा पनि गाईभैँसीमा लाग्ने लम्पीस्किन रोगबाट प्रभावित भएका छन् । हाल नेपालको विभिन्न ठाउँमा भयानक रुपमा फैलिएको यो रोगले देवघाट गाउँपालिकालाई पनि प्रभावित बनाएको छ । गर्मी मौसम सुरू भए लगत्तै फैलिएको यो रोग देवघाट गाउँपालिका भित्रका किसानका बस्तुभाउमा पनि रोग देखा परेपछि उनीहरू चिन्तित बनेका छन् ।
देवघाट गाउँपालिका वडा नम्बर २ का किसानका अनुसार यो रोगले देवघाट गाँउपालिका नै प्रभावित भएको हुदाँ सम्बन्धित वडाको पशु डाक्टरले छिटो भन्दा छिटो रोग नियन्त्रण तथा रोगथामको लागि भ्याक्सिनको व्यवस्था गर्नको लागि सम्बन्धित निकायमा पहल गर्न किसानहरूले अनुरोध गरेका छन् ।

देवघाटमा लम्पीस्किन रोग आए देखि नै गाईभैसीमा निरन्तर उपचार भैरहेको देवघाट गाउँपालिका पशु शाखा प्रमुख दिपक सिं धामीले बताए । हालसम्म पालिका भित्र ३ वटा गोरुको मृत्यु भएको बताएका छन् भने,रोग न्यूनीकरणका लागि मल्हम, स्प्रे,ज्वरो नियन्त्रणका लागि औषधि, पोटास, फिनेल, भिरकोनजस्ता औषधि वितरण पनि गरिएको थामीले बताए ।
यो रोग लाग्न नदिनका लागि खोप लगाउने,विश्वसनीय स्रोतबाट गाईभैँसी खरिद गर्ने,गोठलाई झिङ्गा,लामखुट्टे तथा अन्य किराबाट मुक्त राख्ने, सरसफाइमा ध्यान दिने र आवश्यकतानुसार कीट विकर्षकको प्रयोग गर्नुपर्ने थामीले बताए । रोग लाग्नबाट बचाउनका लागि लम्पीस्किनविरुद्धको खोप लगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।
साथै गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने,दूध उत्पादन घटाउने,छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने,ओठ,मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काँढ्ने,जस्ता लक्षण देखापर्ने धामीले बताए ।
यो रोग विशेष गरी सङ्क्रमित लामखुट्टे, झिङ्गालगायतको टोकाइबाट लाग्ने गर्दछ । सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट,सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट सर्ने गर्दछ ।