Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

इच्छाकामना न्युज

३, बैशाख २०८०
काठमाडौं–रक्सौल रेलमार्गको डीपीआर तयार भएलगत्तै प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाने

काठमाडौं । भारतको रक्सौलदेखि काठमाडौँसम्मको अन्तरदेशीय विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएलगत्तै वैशाख अन्तिम सातासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण हुने निश्चित भएको छ ।

images

रक्सौल काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनको काम सकेर प्रारम्भिक डीपीआर समेत बुझाइसकेको भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेडले आगामी दुई हप्ताभित्र अन्तिम डीपीआर तयार पारिसक्ने र त्यसलगत्तै प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति घोषणा गरिने भएको हो ।

कूटनीतिक र अनौपचारिक स्तरबाट भएका छलफलले एजेन्डाहरू तयार पारेको र त्यसमध्ये सबैभन्दा प्राथमिकतामा रक्सौल–काठमाडौँ रेलमार्गलाई अघि बढाउने विषय रहेको कूटनीतिक स्रोतले जनाएको छ । ‘भ्रमणलाई अर्थपूर्ण बनाउनुपर्छ भन्ने भारतीय पक्षको भनाइ थियो । त्यसका लागि दुई देशबीच कूटनीतिक र अनौपचारिक स्तरमा धेरै विषयमा छलफल भइरहेको छ । भारतले मुख्य गरी रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्ग निर्माण कार्यलाई अघि बढाउने विषय प्राथमिकतामा राखेको छ,’ स्रोतले भन्यो, ‘डीपीआर तयार पार्ने काम अन्तिम चरणमा पुगेको र वैशाखको दोस्रो सातासम्म बुझाउने भन्ने भएपछि त्यसैलाई भ्रमणको मुख्य आकर्षण बनाउने गरी मिति घोषणा गर्ने तयारी भइरहेको छ ।’

१० पुसमा प्रधानमन्त्री नियुक्त भएदेखि नै प्रचण्डले भारत भ्रमणमा जान चासो देखाइरहेका थिए । तर, भारतले भ्रमणमा पर्याप्त गृहकार्य गर्नुपर्ने भन्दै औपचारिक निमन्त्रणा दिएको थिएन । यद्यपि, भ्रमणको तयारी स्वरूप दुवै पक्षले निरन्त छलफल भने गरिरहेका थिए । भारतले महत्वपूर्ण परियोजनामा काम अघि बढ्ने गरी भ्रमणलाई अर्थपूर्ण बनाउनु पर्ने भन्दै आएको थियो ।

यसअघि भारतीय विदेश सचिव विनयमोहन क्वात्राको नेपालको दुई दिने भ्रमणका क्रममा पनि यस विषयमा छलफल भएको थियो । भ्रमणका क्रममा काठमाडौंस्थित भारतीय दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा ‘क्वात्राको भ्रमणमा प्रस्तावित काठमाडौं–रक्सौल रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई दु्रत रूपमा अगाडि बढाउने सहमति भएको’ उल्लेख थियो । परियोजनालाई अघि बढाउने भनिए पनि यसको आर्थिक मोडालिटी र प्रविधिको विषयमा ठोस सहमति हुन सकेको थिएन । क्वात्राले प्रधानमन्त्री प्रचण्ड र उपप्रधान तथा तत्कालीन भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठसँग यस विषयमा छलफल गरेका थिए ।
प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ ।

नेपालले यो परियोजनालाई अनुदानमा बनाइदिन आग्रह गरे पनि भारतले ऋण वा अनुदान भन्ने स्पष्ट पारेको छैन । स्रोतका अनुसार क्वात्राको भ्रमणका क्रममा छलफल भए पनि निचोड निस्कन सकेको थिएन । यस विषयमा प्रधानमन्त्रीको भ्रमणका क्रममा छलफल हुने र सम्झौताका क्रममा भारतले आर्थिक मोडालिटीका बारेमा स्पष्ट पार्ने सम्भावना छ । भारतले यसैलाई ‘अर्थपूर्ण सम्झौता’ का रूपमा प्राथमिकतामा राखेको छ ।

प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३६ किलोमिटर हुने छ ।  नेपाल र भारतबीच २०७६ भदौ १५ मा रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए ।

अरू एजेण्डा के छन् ?

यससँगै दुईवटा जलविद्युत आयोजना र एउटा प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौतामा समेत प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हस्ताक्षर गर्ने तयारी छ । जसअन्तर्गत ७५६ मेगावाटको तमोर जलविद्युत आयोजना र ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना छन् । साथै, भारत हुँदै बंगलादेशसम्मको प्रसारण लाईन निर्माणको विषयमा पनि सम्झौता हुनेछ ।

यस्तै भ्रमणका क्रममा दुई देशबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्नसक्ने यूनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली लागू गर्ने सम्झौता समेत हुने भएको छ । डिजिटल कारोबारको विषयमा जीटुजी (सरकार–सरकार) सम्झौता हुने भएपनि यसका लागि आवश्यक पूर्वाधार के हुने भन्ने विषयमा भने कुनै छलफल र तयारी नरहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै विभिन्न सञ्चार माध्यम र संसदमै आफ्नो पहिलो भ्रमण भारतबाटै हुने बताउँदै आएका प्रचण्डलाई भारतले नेपालको उतारचढावपूर्ण आन्तरिक राजनीतिका कारण निम्तो दिएको थिएन । ‘अहिले भ्रमणमा अर्थपूर्ण सम्झौता हुने गरी तयारी पनि भएको र सरकारको भविष्य पनि अनुमान गर्न सकिने भएपछि निम्तो दिन लागिएको हो,’ स्रोतले भन्यो ।

यसका साथै, भारतले गहुँ निर्यातलाई खुकुलो बनाउने र पोखरा तथा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुटका विषयमा समेत छलफल गर्ने तयारी नेपाली पक्षको छ । तर भारतले गत वर्षको जेठदेखि परिमाणात्मक बन्देज लगाउँदै आएको गहुँ निर्यातमा सहयोग गरे पनि हवाई रुट दिने सम्भावना भने छैन ।

प्रधानमन्त्री नियुक्त भएलगत्तै विभिन्न सञ्चार माध्यम र संसदमै आफ्नो पहिलो भ्रमण भारतबाटै हुने बताउँदै आएका प्रचण्डलाई भारतले नेपालको उतारचढावपूर्ण आन्तरिक राजनीतिका कारण निम्तो दिएको थिएन । भारतीय राजदूतावास स्रोतका अनुसार प्रचण्डले चुनावी गठबन्धन र सरकार निर्माणमा देखाएको गठबन्धन फेरबदलको दौडले सरकारको भविष्यमाथि नै प्रश्न भएकाले औपचारिक भ्रमणको निम्तो दिन भारतले हतार गरेको थिएन । ‘अहिले भ्रमणमा अर्थपूर्ण सम्झौता हुने गरी तयारी पनि भएको र सरकारको भविष्य पनि अनुमान गर्न सकिने भएपछि निम्तो दिन लागिएको हो,’ स्रोतले भन्यो ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि प्रधानमन्त्रीले दोस्रोपटक संसदबाट विश्वासको मत प्राप्त गरेसँगै र नेपाली कांग्रेस सरकारमा सहभागी भएसँगै भारतले भ्रमणको विषयलाई पहिलेको तुलनामा केही चासो बढाएको थियो । यही बीचमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्नैका लागि भारतका लागि नेपाली राजदूत शंकर शर्मा काठमाडौं आएर फर्किएका थिए । त्यस्तै प्रचण्डले दोस्रोपटक विश्वासको मत प्राप्त गरेको केही दिनपछि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि दिल्ली पुगेर फर्किएका थिए । दिल्लीबाट फर्किएपछि अघिल्लो हप्ता मात्रै प्रधानमन्त्री प्रचण्डसँग भेटेर राजदूत श्रीवास्तवले भ्रमणको विषयमा छलफल गरेका थिए ।

भाजपाका विदेश विभाग प्रमुख नेपाल आउँदै

त्यस्तै प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा हुनुअघि भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आउँदैछन् ।

स्रोतका अनुसार उनी आइतबार सुदूरपश्चिम प्रदेशमा आयोजना हुने एउटा कार्यक्रममा सहभागी हुन सडकमार्ग हुँदै धनगढी आउने र त्यहाँबाट काठमाडौं आउने छन् ।

काठमाडौंमा चौथाइवालेले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूसँग भेट गर्ने योजना रहेको स्रोतको दावी छ ।

images
प्रकाशित मिति :बैशाख ३, २०८० आइतवार - ०८:३५:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology