देवघाट । तनहुँको देवघाटधाममा रहेको महेश–संन्यास–आश्रमले वैदिक वाङ्मय र ज्ञानविज्ञानको अध्ययन–अनुसन्धान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको रामानन्द अनुसन्धान केन्द्रको सञ्चालनार्थ समायोजित गीताज्ञान महोत्सव एवम् भूमिदान महाअभियान–२०७९ को आजदेखि सुरु भएको छ ।
विद्येश्वरको दैनिक रुद्राभिषेक, आरती एवम् दैनिक हवन पश्चात् गुरुकुलका वटुकहरू र आचार्यहरूको अनुवदन सहितको गीतापाठपारायणमा भक्तहरूको बाक्लो उपस्थितिमा महोत्सवको प्रथम दिन आज भव्यताका साथ सम्पन्न भएको छ ।

आश्रम प्राङ्गणमा रहेका ध्वजा–पताकाले सुसज्जित मण्डपहरूमा श्रीकृष्णपूजन एवम् दाताहरूको हातबाट भूमिदान सङ्कल्प दिनभर अनवरत रुपमा भैरहेको थियो । हवनात्मक रुद्रपाठ अनुष्ठान,सप्तसती अनुष्ठान एवम् भजन सङ्कीर्तन आदि अनुष्ठानहरू प्रातः कालमा सम्पन्न हुनुका साथै गुरुकुलका आचार्य सङ्गितज्ञ सच्चिदानन्द पौडेलको नेतृत्वमा सुमधुर भजन सङ्कीर्तनसँगै ११ बजेबाट दिवाकालिन कार्यक्रमहरू सुरु भएको थियोे । मध्याह्न १२ बजेदेखि १ बजेसम्म छात्र प्रतिभा प्रदर्शन रहेको थियो भने छात्रहरूले स्तोत्र गायन ,कक्षा ८ का छात्र जीवनाथ आचार्यले संस्कृतसम्भाषण , विद्यापीठका छात्र शिवराम दुवाडीले कविता वाचन गरेका थिए ।

घरघरमा गुरुकुल अभियान पाठशाला १ का विद्यार्थीहरूबाट मङ्गलाचरणसँगै गीताविषयक प्रवचन उद्वोधनको सत्र सुरु भएको थियो । आश्रमका संरक्षक स्वामी मधुसूदनानन्द गिरिजी एवम् पीठाधीश रमणानन्द गिरिजीको पावन सान्निध्यमा भारतीय प्रद्यौगिकी संस्थान,काशी हिन्दू विश्वविद्यालयका प्राध्यापक डा. विश्वनाथ धितालले गीताको दार्शनिक परिचय प्रस्तुत गरेको थियो । प्रा डा. भवानीप्रसाद खतिवडाको समुपस्थितिमा धर्मदर्शन विभागाध्यक्ष, सम्पूर्णानन्द विश्वविद्यालयका प्रो।हरिप्रसाद अधिकारीले गीतामा स्वधर्म विषयक उद्बोधन, विद्यापीठका संस्थापक प्राचार्य सहप्रा डा. गुरुप्रसाद सुवेदीले पनि गीतामा स्वधर्म विषयमानै उद्वोधन गरेकोे थियो।
कार्यक्रमको बीचमा दाता सम्मान कार्यक्रम राखिएको थियोे भने सायङ्कालिन विद्येश्वर उपासना र प्रसाद ग्रहण पश्चात् राष्ट्रिय सङ्गितज्ञहरूबाट भजन कीर्तनसँगै महोत्सवको प्रथम दिन समापन भएको छ । भने भोलीका कार्यक्रमहरूमा काठमाडौँ विश्वविद्यालयका प्राध्यापकहरू एवम् संस्कृतिविद् जगमान गुरुङ आदिको समुपस्थिति रहने कुरा कार्यक्रम सञ्चालक तथा महोत्सव संयोजक उप प्रा. फणीन्द्र पौडेलले बताए ।