देवघाट । आज माघ १ गते अर्थात् माघे संक्रान्ति पर्व । तनहुँ, चितवन र नवलपुरको सङ्गम स्थलमा पर्ने धार्मिकस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला भर्न आउने तिर्थालु भक्तजनहरूको घुइँचो लागेको छ । मेला भर्न हजारौँ भक्तजन बिहानै देवघाट पुगेका छन् । “देवघाटधाम हिन्दूको पवित्र तीर्थस्थलका रूपमा रहेकाले माघे स्नानका लागि यहाँ स्वदेश तथा विदेशी भक्तजन धेरै आउने गर्छन्” । हरेक बर्षको माघ १ लागे लाग्ने यो मेला देवघाटमा बृहत रूपमा लाग्ने गर्छ र यस मेलालाई देवघाट क्षेत्र विकास समिति र स्थानीय सरकारको सहकार्यमा सम्पन्न गर्ने गरिन्छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीका अनुसार करिब बिहान ७ बजे सम्मको अबधि भरमा मागे मेला भर्ना आउने तिर्थालु भक्तजनहरू लगभग २ लाख भन्दा बढि भित्रिसकेको बताए । अधिकारीले माघे पर्वको लागि भनेर देवघाटमा २९ गते बाट नै टाढाटाढाबाट भक्तजनहरू देवघाट आइसकेको थियोे । टाढाटाढाबाट भक्तजनहरू अघिल्लो दिन नै आउने हुदाँ मेला व्यवस्थापन कडाइ साथ गरिएको मेला व्यवस्थापन मूल समितिका अध्यक्ष एवं देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री प्रसाद अधिकारीले बताए । उनले रातदिन नभनि टिम निरन्तर रूपमा खटिएको छ भने ।

देवघाटधामको वेणी सङ्गमस्थलमा हिजो पुस ३० गते बिहान विधिपूर्वक बाँसको लिङ्गो गाडेपछि माघ स्नान शुभारम्भ भएको थियोे । मेलालाई व्यवस्थित गर्नका लागि नवलपुर, चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू लगाएतको टोली खटिएइएको छ । थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति ९मकर संक्रान्ति० को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।
मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेला समेत लाग्ने गर्छ ।
