Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

रत्ननगर नगरपालिकाको १२औँ नगर सभा सम्पन्न

रत्ननगर नगरपालिकाको १२औँ नगर सभा सम्पन्न

इच्छाकामना न्युज

२८, पौष २०७९
रत्ननगर नगरपालिकाको १२औँ नगर सभा सम्पन्न

रत्ननगर । रत्ननगर नगरपालिकाको १२औँ नगर सभा नगरप्रमुख प्रल्हाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको छ। नगर सभामा ६ महिनाभित्र भएका नगरका प्रगति विवरण पेश गर्दै नगरप्रमुख सापकोटाले शिक्षा तथा खेलकुदतर्फ स्थानीय पाठ्य सामग्री, मूल्यांकन, विकास र छपाइ कार्यक्रम अगाडि बढाइएको बताए। 

images

दस वर्षे नगरशिक्षा कार्यक्रमको तथ्यांक संकलनको लागि आवश्यक फाराम तयार भएको, मेयर कप फुटबल सम्पन्न गरिएको, विद्यालयको शैक्षिक सुधार कार्यक्रम अघि बढाइएको, विद्यालयमा नियमित अनुगमन, छात्रवृत्ति र दरबन्दी मिलानको लागि पहल भइरहेको, विभिन्न शैक्षिक कार्ययोजना र तालिमहरुको लागि सम्झौता भई कार्य अगाडि बढाइएको जानकारी दिए। 

यस्तै, स्वास्थ्यतर्फ विपन्न ३२ सय घरधुरीलाई निःशुल्क बिमा, अतिविपन्न तथा बेसहारा नागरिकको आकस्मिक उपचारका लागि आकस्मिक विपन्न नागरिक कोष स्थापना गरी रत्ननगर बकुलहर अस्पतालमा उपचार सेवा सुरू गरिएको जानकारी दिए। हालसम्म ९१ ह्जार नगरवासीमध्ये ८२ हजारलाई कोभिडविरुद्ध खोप दिइएको, ज्येष्ठ नागरिकका लागि घरघरमा स्वास्थ्यकर्मी परिचालन गरी स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिएको सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य परीक्षण, जटिल रोगको लागि स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। 

यसैगरी बालबालिका संरक्षण, द्वन्द्व प्रभावित बालबालिकालाई शैक्षिक सामग्री, मानव बेचबिखन, महिलाहिंसाविरुद्ध अभियान, बालमैत्री दिगोपनासम्बन्धी कार्यक्रम, सडकमा बेसहारा व्यक्तिहरुको उद्धार, अपाङ्ता परिचयपत्र वितरणजस्ता कार्यक्रम सम्पन्न गरिएको बताए। 

विपद् जोखिम न्यूनीकरण, उद्धार तथा व्यवस्थापन, प्राकृतिक प्रकोपको कारण क्षतिको तथ्यांक संकलन, विपद् प्रतिकार्य तालिमलगायतका कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए। नगरप्रमुख उद्यमशीलता कार्यक्रम, कृषि क्षेत्र तथा पशुपालन, पशु बिमा प्रोत्साहन, उत्पादन तथा उत्पादकत्व वृृद्धिका कार्यक्रम, उत्पादित वस्तुका् बजारीकरण तथा अनुगमन, सहकारी, उद्योग, वाणिज्य, पर्यटन, रोजगार प्रवद्र्धन तथा बजार अनुगमनतर्फ भइरहेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि नगरप्रमुखले पेश गरे। 

भौतिक पूर्वाधार विकासतर्फ स्मार्ट लाइट, सडक सञ्जाल वर्गीकरण गरी सडक कालोपत्रे तथा स्तरोन्नति, ढल, नाला, फुटपाथ, अटोल्याण्ड, बधशाला, तरकारी मण्डी, सिटी हल, विभिन्न नदीखोलामा तटबन्ध, पूर्वाधार विकास, मोज्याक टायललगायत संघीय र प्रदेश समपुरक कार्यक्रमका सबै आयोजनाहरुमा ठेक्का प्रक्रिया कार्यान्वयन भइसकेको पनि उनले जानकारी दिए।

सार्वजनिक खरिद प्रक्रियालाई प्रतिस्पर्धी, पारदर्शी र मितव्ययी बनाउँदै स्थानीय उत्पादन र बजारलाई प्राथमिकता दिँदै एकद्वार प्रणालीबाट मात्रै खरिद गर्ने व्यवस्था मिलाइएको उनले बताए। भूमिहीन तथा अव्यवस्थित सुकुमबासीको बसोबासको तथ्यांक तथा जग्गा नापजाँचको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको उनले बताए।

यस्तै, नगरपालिकाभित्र शून्य भ्रष्टाचारको नीतिलाई अवलम्बन गरी सुशासनको प्रत्याभूति गरिएको, सबै वडाहरुमा सेवाग्राहीलाई छिटो सेवा प्रदान गर्ने व्यवस्था गरिएको, सेवाग्राहीलाई अनलाइनमार्फत सेवा दिने प्रक्रिया थालनी गरिएको, नागरिकका गुनासा सुन्ने र कार्यान्वयन, न्यायिक सहजीकरण गरिएको जानकारी दिए। यस्तै, प्रधानमन्त्री रोगजार कार्यक्रम, नौ वटा नगर गौरवका आयोजनासमेत कार्यान्वयन भइसकेको उनले बताए। 

नगर उपप्रमुख यादवप्रसाद पाठकले नगरपालिकाको बजेट तथा कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताउँदै आव ०७९÷८० मा आन्तरिक आयको ११ करोड ५० लाख अनुमान गरिएकोमा चालू आर्थिक वर्षको पुस २७ गतेसम्म ५ करोड ९ लाख १६ हजार आन्तरिक आम्दानी भएको जानकारी दिए। उनले आगामी आर्थिक वर्षको आर्थिक प्रक्षेपण १२ करोड ६५ लाख अनुमान गरिएको बताए।

उनले आव ०७९÷८० को आन्तरिक लेखा परीक्षण कार्य सम्पन्न गरी प्रतिवेदन पेश गर्दा गत आर्थिक वर्षको बेरुजु ४ करोड ८० लाख ८० हजार ६९ रुपैयाँ सम्परीक्षणका लागि महालेखा परीक्षकको कार्यालयमा पेश गरिएको जानकारी दिए। उनले जनताले तिरेको कर आमजनताको बृहत्तर हितमा मितव्ययी र उत्पादनमूलक तबरले खर्चिंदै कर प्रशासनलाई प्रभावकारी बनाउन गम्भीर रहेको उनले बताए।

रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले स्थानीय सरकारसँग आमनगरवासीका अपेक्षा अधिक रहेको तर सीमित स्रोत साधनका कारण सबैका आवश्यकता पूरा नहुने अवस्था रहेको बताउँदै प्राथमिकताका आधारमा उत्तरदायी भई काम गरिरहेको बताए। 

स्वास्थ्य बिमा, छात्रवृत्ति, उपभोक्तालाई दूध, घाँसमा अनुदान, कृषि उपकरण, पाँच विषयसँग सम्बन्धित तालिमका कार्यक्रम सम्पन्न भइसकेको र यसवर्ष सम्पन्न नभएका कार्यक्रम अर्को वर्षमा कार्यान्वयन गरिने बताए। उनले वडा सदस्यहरुको भूमिका प्रभावकारी बनाएर सेवाग्राहीलाई थप सेवा दिने कार्य अघि बढाइने जानकारी दिए।

सभामा वडा सदस्य वीरेन्द्र चौधरी, ईश्वर जमरकट्टेललगायतले सडकको मापदण्ड, जग्गा वर्गीकरण, अव्यवस्थित बसोबासी, करको दायरा, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा गर्नुपर्ने योजनाका सम्बन्धमा गुनासा राखेका थिए। गुनासाबारे नगरप्रमुख सापकोटाले नगर सभामा उठेका गुनासाहरुको सम्बोधन अध्ययन, अनुगमन र छलफल गरी आगामी दिनमा कार्यान्वयन गर्दै जाने बताए। 

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - २०:१२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology