देवघाट । सोमबार देवघाट गाउँपालिकाका दुई जना कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै कर्मचारीका विभिन्न संगठनले आपत्ति जनाएका छन्। सरकारी कर्मचारीमाथि कार्यकक्षभित्रै दुर्व्यवहार गरेर अमानवीय कार्य गरेको भन्दै गाउँपालिकाका कर्मचारी तथा कर्मचारीसम्वद्ध राजनैतिक दल निकटका विभिन्न संगठनहरूले दोषीमाथि कारवाही गर्नसमेत माग गरेका छन्।
मंगलबार कर्मचारीहरूको बैठक बसेपछि प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीलाई सहज ढंगले काम गर्ने वातावरण बनाइदिन गाउँपालिकाको कार्यालय तथा सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्। गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एवम् लेखा अधिकृत उमानाथ ढकाल र लेखापाल सञ्जय शर्मामाथि सोमबार दिउँसो स्थानीयद्वारा कार्यकक्षभित्रै दुव्र्यवहार भएको थियो।
घटनामा संलग्नलाई कारवाही र पीडितमाथि उचित न्याय दिलाउन माग गर्दै कर्मचारीहरूले गाउँपालिका र कर्मचारीको दलीय संगठनहरूले जिल्ला प्रशासन कार्यालय दमौलीमा ज्ञापनपत्रसमेत बुझाएका छन्।
जिल्ला प्रशासन कार्यालय दमौलीमा निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन तनहुँ, नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) तनहुँ, नेपाल निजामति कर्मचारी संगठन तनहुँ, र नेपाल निजामति कर्मचारी युनियन तनहुँले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका हुन्।
गाउँपालिकाका दुई कर्मचारीले स्थानीयलाई अनाहकमा दुःख दिने र सम्पन्न भइसकेको कामको भुक्तानी पनि रोकिदिएको भन्दै सोमबार दिउँसो स्थानीयले दुर्व्यवहार गरेका हुन्। आफूहरूले घुस नदिएपछि पाउनुपर्ने भुक्तानी नै राकेर पटकपटक दुःख दिएको स्थानीयको आरोप छ।
लेखा अधिकृतले गाउँपालिका र प्रमुख प्रशासकीय अधिकृतलाई समेत नटेर्ने गाउँपालिकाका कर्मचारी गाउँपालिकाका कर्मचारी तथा पूर्व जनप्रतिनिधिहरूले नै बताउँदै आएका छन्। ‘कर्मचारीमात्र होइन, दुर्व्यवहार भन्ने कुरा कोही कसैमाथि पनि हुन हुँदैन। तर, अति भएपछिको आवेग यहाँ पोखिएको हो,’ एकजना पूर्वजनप्रतिनिधिले भने।
वडा नं.३ को छिपछिपे भञ्ज्याङमा गत वर्ष चैतमै निर्माण सम्पन्न भइसकेको खानेपानी आयोजनाको बजेट रोकिदिँदा निर्माण कम्पनीलाई रकम दिनै नपाएको स्थानीयले बताउँदै आएका छन्। करिब ५५ लाख रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजनाको गाउँपालिकाले भुक्तान गर्नुपर्ने सात लाख रूपैयाँ रकम निकासा भएको छैन।
रोकिएको रकम भुक्तानी माग्दा लेखा अधिकृत ढकालले स्थानीयलाई उल्टै गालीगलौच गर्ने, रकम नदिने भन्दै धम्क्याउनेजस्ता व्यवहार गरेको स्थानीयको आरोप छ।