Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट विशेष

नौ घण्टा पैदलयात्रा हिँडेर देवघाटधाम परिक्रमा

नौ घण्टा पैदलयात्रा हिँडेर देवघाटधाम परिक्रमा

रासस

२२, कार्तिक २०७९
नौ घण्टा पैदलयात्रा हिँडेर देवघाटधाम परिक्रमा

तनहुँ ।  पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा गण्डकी परिक्रमा गरिएको छ । वैदिक सनातन धर्म र संस्कृतिको प्रचार–प्रसार गर्ने उद्देश्यले मङ्गलबार नौ घण्टा पैदलयात्रा हिँडेर गण्डकी परिक्रमा गरिएको हो । छब्बीस किलोमिटरको दूरीमा करिब तीन हजारको सहभागिता रहेको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।

images

विसं २०३८ देखि देवघाटमा गण्डकी परिक्रमा गर्न थालिएको थियो । केही वर्ष रोकिएको अभियान गत वर्षदेखि पुनः सुरु भएको हो । देवघाटधाम क्षेत्रमा साधनारत सन्त महात्माको अगुवाइमा भएको गण्डकी परिक्रमालाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्रीप्रसाद अधिकारीले बताए ।

सो अवसरमा हरिहर आश्रम, महेश आश्रम, गलेश्वर आश्रमका पिठाधीश र विद्यार्थी, विभिन्न मठमन्दिरका प्रतिनिधि, धार्मिक सङ्घसंस्था र समूहका प्रतिनिधिसँगै स्थानीयको समेत सहभागिता रहेको थियो । गण्डकी परिक्रमामा सहभागीहरू आफ्नो ब्यानरसहित पोशाकमा उपस्थित भएका थिए । 

तनहुँ तर्फ देवघाटको वेणीसङ्गम, गलेश्वर आश्रम (सिद्धेश्वर मन्दिर), चक्रवर्ती आश्रम (मणिमुकुन्देश्वर मन्दिर), महेश सन्यास आश्रम (विद्येश्वर मन्दिर), हरिहर सन्यास आश्रम (हरिहर मन्दिर), देवघाट पुलको मुख (गणेश मन्दिर, केदारेश्वर मन्दिर, बद्रीनाथ मन्दिर)को परिक्रमा गरिएको अध्यक्ष अधिकारीले बताए ।

त्यस्तै चितवनतर्फ देवघाट बसपार्क (सङ्कल्पेश्वर हनुमान मन्दिर), विश्वशान्ति यज्ञशाला मन्दिर, राम मन्दिर, लक्ष्मीनारायण मन्दिर, सीताराम संस्कृृत मावि, योगी नरहरिनाथ आश्रम गौशाला (बागेश्वरी मन्दिर), आँपटारी (दियालो बङ्गला चोक), पोखरा बसपार्क (गौरेश्वर शिव मन्दिर), नारायणगढ (हरिहर मन्दिर), नारायणगढ पुलचोक (दुर्गा मन्दिर)को परिक्रमा गरिएको छ ।

नवलपुरतर्फ गैँडाकोट पुल्चोक (गोपेश्वर महादेव मन्दिर), मौलाकाली भगवती मन्दिर, श्रीमद्रामानुज आश्रम, दिव्यधाम मन्दिर, बेसक्याक्प र केलादी क्षेत्रको परिक्रमा गरिने अध्यक्ष अधिकारीले बताए । देवघाटधामको पूर्ण परिक्रमासँगै सिद्ध हरिहर क्षेत्रको भ्रमण, मौलकाली मन्दिर दर्शन, धार्मिक पर्यटनको प्रवद्र्धन, पवित्र देव नदीको पुजन, नारायणगढ क्षेत्रको अवलोकन, रमणीय पर्वतको परिक्रमा तथा वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसारको गरिएको आयोजकले जनाएको छ । 

सोमबार बिहान ७ बजे देवघाट वेणीसङ्गमबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजे मणिमुकुन्देश्वर चक्रवर्ती आश्रममा समापन गरिएको छ ।  देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनका लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

पवित्र देवघाटधाम र गण्डकी सङ्गममा स्नान, जप, तप, न्यास, ध्यानादी कार्यमोक्ष प्राप्त हुने तथा मृत्युपश्चात यसै क्षेत्रमा अन्तिम संस्कार भएमा मुक्ति प्राप्त हुने हिन्दू धर्मको पौराणिक मान्यता भएको र विभिन्न धार्मिकग्रन्थमा देवघाटधामको महिमा उल्लेख भएको पाइन्छ । देवघाटको वेणी सङ्गममा माघे सङ्क्रान्ति, बोलबम मेलालगायतका मेला महोत्सव हुने गर्दछ ।

images
प्रकाशित मिति :कार्तिक २२, २०७९ मंगलवार - १०:२३:३३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology