Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

देवघाट विशेष

देवघाट गाउँपालिकाद्वारा बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु

देवघाट गाउँपालिकाद्वारा बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु

इच्छाकामना न्युज

३०, आश्विन २०७९
देवघाट गाउँपालिकाद्वारा बोटे परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु

देवघाट । तनहुँको देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरुआत गरेको छ । चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा समावेश गरिएबमोजिम गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा सुरु गरेको हो ।

images

गाउँपालिकाले वडा नं ५ को गणेश टोलबाट अल्पसङ्ख्यक जातिको स्वास्थ्य बीमा सुरु गरेको वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । यस टोलका २७ बोटे परिवारको स्वास्थ्य बीमा गरिएको छ । यस वडामा दुई सय ५० भन्दा बढी घरधुरी बोटे जातिको छ । “पहिलो चरणमा २७ परिवारको स्वास्थ्य बीमा गरेर बीमा कार्ड हस्तान्तरण गरेका छौँ”, उहाँले भन्नुभयो, “क्रमशः सबै परिवारको बीमा गरिनेछ ।”

गाउँपालिकाका पाँच वटामध्ये सबैभन्दा बढी बोटे परिवार यही वडामा बसोबास गर्छन् । साथै यो वडामा एक परिवार चेपाङको बसोबास रहेको छ भने गाउँपालिकाभरी दुई परिवार बराम जातिको छ । “सबै वडामा अल्पसङ्ख्यक परिवारको तथ्याङ्क सङ्कलन भइरहेको छ”, उहाँले भन्नुभयो ।

आर्थिकरूपमा विपन्न र पछाडि पारिएका व्यक्तिलाई स्वास्थ्यको पहुँचसम्म ल्याउन निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अगाडि बढाइएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो । गाउँपालिकाले अल्पसङ्ख्यक जातिको पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले सीसमान्तकृत तथा आर्थिक सामाजिकरूपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि रु चार लाख बजेट विनियोजन गरेको थापाले बताउनुभयो ।

पाँच जनासम्म सदस्य रहेको परिवारको बीमाका लागि वार्षिक रु तीन हजार पाँच सय शुल्क तिर्नुपर्छ । पाँच जनाभन्दा माथि भए प्रतिव्यक्ति रु सात सयका दरले रकम बुझाउनुपर्ने प्रावधान छ । गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिन थालेपछि अल्पसङ्ख्यक जातिका व्यक्ति खुसी भएका छन् ।

जिल्लाका अन्य स्थानीय तहले पनि विपन्न परिवारको स्वास्थ्य बीमा कार्यक्रम ल्याएका छन् । सदरमुकामस्थित व्यास नगरपालिकाले नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो ।

आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तहअन्तर्गतका निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बीमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो ।

बन्दीपुर गाउँपालिकाले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । आर्थिकरूपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले गत दुई वर्षदेखि स्वास्थ्य बीमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिने जनाइएको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताउनुभयो । आर्थिकरूपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट बञ्चित नहुन् भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिनुभयो । “हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बीमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बीमा गराइन्छ”, उहाँले भन्नुभयो ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७९ आइतवार - ०९:५७:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology