कोभिड–१९ :इटलीपछि स्पेन, जर्मनी र फ्रान्समा सङ्क्रमण बढ्दै

कोभिड–१९ अर्थात् नोवेल कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिँदै गएपछि विश्व स्वास्थ्य सङ्गठनले सबै देशलाई सचेत रहन आग्रह गरेको छ । भाइरसका कारण चीनको वुहानभन्दा पनि बढी युरोपियन मुलुक इटलीमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । इटालीमा भाइरसका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ६ हजार ८ सय पुगेको छ । इटलीपछि युरोपका स्पेन, जर्मनी, फ्रान्स, बेलायत लगायतका मुलुकमा दिनप्रतिदिन भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या बढ्दो क्रममा छ ।
यसैबीच बेलायत सरकारले भाइरसको उपचार र रोकथामका लागि एक लाख ५८ हजार स्वयंसेवीलाई परिचालन गर्ने भएको छ । बेलायमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या दिनमा ४ सयका दरले बढ्न थालेपछि सरकारले स्वयंसेवीलाई परिचालन गर्ने निर्णय गरेको हो । थाईल्याण्डमा ६० हजार आप्रवासीलाई पूर्ण लक डाउनमा रहन आदेश दिइएको छ । हालसम्म भारतमा भाइरसका कारण ११ जनाको मृत्यु भएको छ भने सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ८७ पुगेको छ । भारतमा गएराति १२ बजेदेखि २१ दिने लक डाउन सुरु गरिएको छ । दक्षिण अफ्रिकामा भाइरसका कारण एकैदिन ७ सय ९ जना नयाँ सङ्क्रमित फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने मलेसियामा १४ अप्रिलसम्मका लागि मुलुक लक डाउन गरिएको छ ।