राखेप मातहतमा रहेका भौतिक संरचना क्वारेन्टाईनका रुपमा प्रयोग मिल्ने 

काठमाण्डौ, १० चैत
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो मातहतमा रहेको भौतिक संरचनाहरुलाई क्वारेन्टाईन रुपमा प्रयोग गर्न दिने भएको छ । राखेपले आज प्रेस विज्ञप्ति निकाल्दै कोरोना भाईरसको महामारीविरुद्ध लड्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहितका भौतिक पूर्वाधारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । राखेपले रंगशालासहित सातदोबाटो खेलकुद परिसर, मुलपानी क्रिकेट मैदान, किर्तिपुरको टियु मैदान, च्यासल मैदान, सानो गौचरन लगायतका मैदान र सातै प्रदेश तथा जिल्लाका भौतिक पूर्वाधारलाई क्वारेन्टाईनको रुपमा प्रयोग गर्न सकिने जनाएको छ । चीनबाट फैलिएको कोरोनालाई मध्येनजर राखेपले यस अघि एक हप्ता सम्पुर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । यस्तै सरकारले बैशाख १८ गतेसम्मको लागि रंगशालासहित सबै खेल स्थल बन्द गर्ने निर्णय गरेको थियो ।