इन्द्रावती र हेलम्बुमा परीक्षणपछि मात्रै प्रवेश 

मेलम्ची,७ चैत
इन्द्रावती र हेलम्बु गाउँपालिकामा कोरोना भाइरसको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । पालिका प्रवेश गर्ने स्थानमा पैदल यात्री र सवारी साधनबाट आएका यात्रुहरुको तापक्रम परीक्षण गर्ने गरेको हो । इन्द्रावती गाउँपालिकाको गाउँक्षेत्रमा टेक्ने जोकोहीलाई स्वास्थ्यकर्मीले साबुन पानीले हात धुन लगाउँछन् । त्यसपछि ‘इन्फारेट थर्मोमिटर’ बाट तापक्रम मापन गरेपछि मात्रै इन्द्रावती गाउँपालिकामा ‘हजुरहरुलाई स्वागत’ भन्दै कोरोनाबारे सचेतना दिइन्छ । इन्द्रावतीमा आउने जोकोही र गाउँपालिकाबाट दिइने प्रत्येक सेवा लिनुअघि कोरोना परिक्षण गरेर मात्रै आउन दिइएको इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले बताउनुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार हेलम्बु प्रवेश गर्ने स्थानमा यात्रुको तापमान गरिएको हो । स्वास्थ्यकर्मीको सहायताबाट ज्यरो नाप्दै हात धुन सिकाउने गरेको उहाँले बताउनुभयो ।