कोरोना प्रभावः गुरुङ साहित्यिक मञ्चद्वारा आयोजित कविता प्रतियोगिता स्थगित

पोखरा, १ चैत
गुरुङ साहित्यिक मञ्चद्वारा तेस्रो स्थापना दिवसको अवसरमा पोखरामा आगामी चैत २१ गते आयोजना गर्न लागेको कविता प्रतियोगिता स्थगित भएको छ । आज एक सूचना प्रकाशित गर्दै तेस्रो स्थापना दिवसको अवसरमा मञ्चले आयोजना गर्न लागेको कविता प्रतियोगिता लगायत सम्पूर्ण कार्यक्रम स्थगित भएको जानकारी दिएको हो ।
‘चीनको वुहानबाट सुरु भएर विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम रोकथामका लागि नेपाल सरकार गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला कार्यक्रम नगर्न, नगराउन गरिएको अनुरोधलाई एक सचेत र जिम्मेवार नागरिकको हैसियतले मनन गर्दै गुरुङ साहित्यिक मञ्च नेपालको तेस्रो स्थापना दिवसको अवसरमा यहीँ चैत २१ गते शुक्रबार आयोजना गरिएको कविता प्रतियोगिता, प्रशिक्षण कार्यक्रम लगायतका सम्पूर्ण कार्यक्रमहरु अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराइन्छ’ मञ्चका अध्यक्ष गौरी गुरुङद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।