आँबुखैरेनीमा फेरी थपियो नयाँ सहकारी

१ सय ४३ जना भुपू लाहुरेहरुको १ करोड ४३ लाख रुपैयाँ लगानीमा समाजसेवा साकोस सञ्चालनमा

आँबुखैरेनी, २ फागुन
तनहुँको आँबुखैरेनी गाउँपालिकामा नयाँ सहकारी संस्था थपिने क्रम बढेको छ । आज मात्र आँबुखैरेनी बजारमा समाजसेवा बचत तथा ऋण सहकारी संस्था नामक नयाँ सहकारी संञ्चालनमा आएको हो । यो सँगै चालु आर्थिक वर्ष २०७६/०७७ मा मात्र ५ वटा नयाँ सहकारी सञ्चालनमा आएको छ ।

    आँबुखैरेनी गाउँपालिकाले सहकारी ऐन २०७४ बमोजिम नयाँ सहकारी दर्ता सुरु गरेपछि ६ वटा सहकारी संस्था दर्ता गरिसकेको छ । सोहि क्रममा पछिल्लो पटक समाजसेवा बचत तथा ऋण सहकारी संस्था दर्ता भै आजबाट सञ्चालनमा आएको छ । सहकारीमा १ सय ४३ जना भुतपूर्व लाहुरेहरुको १ करोड ४३ लाख रुपैयाँ लगानी रहेको सहकारीका अध्यक्ष काजी कुमार गुरुङले जानकारी दिनुभयो ।


सहकारीको एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले रिबन काटेर उद्घाटन गर्नुभयो । सहकारीको उद्घाटन कार्यक्रमलाई सम्बोन्धन गर्दै भुतपूर्व लाहुरेहरुले सामाजिक सेवा भावले विगत देखि नै आँबुखैरेनीमा धेरै सामाजिक कामहरु गरि आएको स्मरण गर्दै सहकारी सञ्चालनबाट पनि थप सामाजिक कामहरु गर्न सफल होस् भनि अध्यक्ष थापाले शुभकामना व्यक्त गर्नुभयो ।


कार्यक्रममा सन्त बहादुर केसी, वंशीराम प्रधान, केशवनाथ खनाल लगायतको सहकारी सञ्चालन सफलताको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष चिजा श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मदन खत्रीले गर्नुभएको थियो ।