ए डिभिजन लिगमा आज तीन खेल हुँदै 

काठमाडौँ,०२ फागुन
सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । लिगको अन्तिम चरणको खेलको दोस्रो दिन तीन खेल हुन लागेको हो । आज पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविक विजेता मनाङ मस्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ । शेर्पा र एनआरटी बीचको पहिलो खेल बिहान पौने ९ बजे सुरु हुनेछ । शीर्ष ६ को दौडबाट बाहिरिसकेका दुबै टिमबीच प्रतिष्ठाको लडाई हुनेछ । एनआरटी लिगको पाँचौ जितको खोजीमा हुनेछ । शेर्पा तेस्रो जित निकाल्न चाहन्छ । आजको दोस्रो खेल ‘पाटन डबी’ अन्तर्गत रहेको छ । खेल मध्यान १२ बजे सुरु हुनेछ । च्यासलविरुद्ध जित निकाल्दै थ्री स्टार शीर्ष तीनमा पर्न चाहन्छ । आजको अन्तिम खेलमा जावलाखेल र साविक विजेता मनाङ मस्र्याङ्दी क्लब भिड्दैछन् । खेल दिउँसो साढे ३ बजे एन्फा मैदानमा सुरु हुनेछ । तीनै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।