रेडियो दिदिवहिनीको आयोजनामा महिला महोत्सव शुरु

पर्वत,०२ फागुन
पर्वतको कुश्मामा रहेको रेडियो दिदिवहिनीले ११० औँ अन्तराष्ट्रिय नारी दिवस एवम् रेडियोको बार्षिकोत्सवको अवसरमा तेह्रौँ गण्डकी प्रदेशस्तरीय महिला महोत्सव शुरु गरेको छ । पर्वतको जलजला गाउँपालिका २ वारीबेनीमा ११ दिने महोत्सव शुरु भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महोत्सवको उद्घाटन गर्दै महिलाहरुको सम्मान र सहभागिताले समतामुलक समाज निर्माण हुने बताउनुभयो । उहाँले पर्वतमा महिलाहरुले सञ्चालन गरेको रेडियोले महिलाहरुको आवाज बुलन्द गराउन ठूलो भूमिका खेलेको भन्दै महिलाहरुले चाहेमा जस्तोसुकै काम गर्न सक्छन् भन्ने पनि स्पष्ट पारेको बताउनुभयो । तिमिल्सिनाले संविधानमा उल्लेख भएका सबै मौलिक अधिकार नागरिकहरुले प्राप्त गर्ने वातावरण बन्दै गएको पनि बताउनुभएको छ । दुईवर्षे कार्यकालको अवधिमा आवश्यक कानुन निर्माण गरेर सकिएको बताउँदै तिमिल्सिनाले संविधानमा उल्लेख मौलिक हकको कार्यान्वयन गर्नु अबको दायित्व रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिलाहरुलाई उद्यमसँग जोड्ने कुरामा सरकारको विशेष ध्यान गएको बताउनुभयो । महिलाहरुको हातमा सीप र आर्थिक उपार्जनको कुनै माध्यम नभएसम्म समाज पछौटेपनमै रुमलिने भएकाले सरकार हरेक महिलामा केहि न केहि उद्यम र सीप हस्तान्तरण गर्ने योजनामा केन्द्रित भएको दाबी गर्नुभयो । मन्त्री गुरुङले नागरिकमा उत्साह थपिने खालका समाचार लेख्न पत्रकारलाई सुझाव दिनुभयो । रेडियो दिदिवहिनीका अध्यक्ष कल्पना चापागाईले महिलाहरुलाई समाजमा हेप्ने दृष्टिकोणलाई बदल्न आफूहरू सफल भएको दाबी गर्नुभयो । चापागाईले हरेक वर्ष हुने मेला महोत्सव र रेडियोले प्रस्तुत गर्ने कार्यक्रमले समाजमा रहेका कुरिती अन्त्य गर्न र महिलाहरुलाई समाजमा खुल्न प्रेरित गर्दै आएको उल्लेख गर्नुभयो ।