डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख देवकोटा र कार्यालय सहयोगी घुस सहित पक्राउ

नवलपुर,०२ फागुन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नवलपुरका निमित्त कार्यालय प्रमुख कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई २ लाख घुस रकम सहित पक्राउ गरेको छ । निमित्त कार्यालय प्रमुख देवकोटा र करारमा रहेका कार्यालय सहयोगी तेलीले टेण्डरको काठ उठाए वापत सेवाग्राहीसँग पटक पटक घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियारले टोली खटाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले उनीहरूलाई दुई लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका वडा नं. ८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । अहिले थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । अख्तियार बुटवलका सूचना अधिकारी सुरेश भुषालका अनुसार दिउँसो ३ बजे कार्यालय परीसरबाटै देवकोटा र तेलीलाई पक्राउ गरिएको हो । थप अनुसन्धानका लागि आज काठमाण्डौ पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।