शहर पसेका युवा गाउँ फर्केर व्यवसायमा, सरकारी सहयोगको अपेक्षा 

सिन्धुपाल्चोक,०२ फागुन
युवाहरू कामको खोजीमा शहर पस्ने र विदेश जाने क्रम बढेपछि प्रायः गाउँघरमा उमेर ढल्किएकाहरू मात्रै भेटिन्छन् । तर सिन्धुपाल्चोक थुम्पाखरका युवाले भने गाउँ फर्क अभियान चलाएर जिल्लामै पहिलो पटक व्यवसायिक कालिज पालनमा लागेका छन् । विभिन्न कामको शिलशिलामा शहर पसेका सुनकोशी गाउँपालिका ६, थुम्पाखरका युवाहरू अहिले आफ्नै थलोमा फर्कन थालेका छन् । शहर केन्द्रित हुँदा गाउँघर शुन्य हुँदै गएपछि युवाहरू गाउँमै बस्ने उद्देश्य लिएर कालिज पालनको नयाँ व्यवसायमा जुटेको युवाहरू बताउँछन् । युवा व्यवसायी मिलेर जिल्लामै पहिलो पटक कालिज पालन गर्न थालेका छन् । भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि मार्फत् कालिज पालन सुरु गरेका युवाहरूले यो व्यवसायको लागि १३ लाखभन्दा बढि लगानी गरेका छन् । कालिज पालनको लागि खासै प्राविधिक ज्ञानको आवश्यक नपर्नुका साथै थोरै समयमै फाईला लिन सकिने भएकाले कालिजको व्यवसायिक पालनमा लागेको प्रालिका अध्यक्ष रामचन्द्र कार्कीले बताउनुभयो । प्रतिगोटा तीन हजारसम्म विक्री हुने कालिजको मासु स्वादिलो हुने भएकाले यसको माग बढ्दै गएको छ । व्यवसाय सुरु गर्दा लगानी बढि परेजस्तो लागेपनि विक्री हुन थालेपछि दुई वर्षभन्दा कम समयमै लगानी उठ्ने र त्यसपछि व्यवसायमा नाफा हुन थाल्ने समुहका अर्का सदस्य मधुसुदन कार्कीको विश्वास छ । राजधानी र अन्य स्थानमा बसोबास गर्दै आएका युवाहरू गाउँमै फर्किएका छन् र व्यवसायिक खेती किसानीमा लागेका छन् । सरकारले अनुदान, प्राविधिक सहयोग र बजार व्यवस्थापनमा सहयोग गरिदिए मिहेनति युवालाई थप हौसला मिल्नेछ ।