सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज अन्तिम चरणका खेल सुरु हुँदै 

काठमाडौँ, ०१ फागुन
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । आजबाट सुरु हुने अन्तिम चरणको पहिलो दिन तीन खेल हुनेछ । पहिलो खेलमा नेपाल पुलिस र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने यी दुई टोलीबीचको खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ । पुलिस र फ्रेन्ड्स दुवै शीर्ष ६ का दाबेदार हुन् । तर, फ्रेन्ड्सको शीर्ष ६ मा रहँदै राष्ट्रिय लिग खेल्ने गणितिय सम्भावना मात्र रहेको छ । पुलिस भने फ्रेन्ड्सबिरुद्व जित निकाल्दै शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ । फ्रेन्ड्स १४ अङ्क सहित तालिकाको दशौं स्थानमा छ भने पुलिस १७ अङ्क सहित तालिकाको छैटौ स्थानमा छ । आजै हुने अर्को खेलमा एपीएफ र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुनेछ । सातदोबाटोमै हुने यो खेल मध्यान्ह १२ बजे सुरु हुनेछ । रेलिगेशनबाट जोगिएका दुवै टिम लिगको सुखद अन्त्य गर्ने दाउमा छन् । एपीएफ ८ अङ्क सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अङ्क जोडेको ब्रिगेड १२ औं स्थानमा छ । आजै हुने अन्तिम खेलमा सरस्वती र संकटाबीच प्रतिस्पर्धा हुनेछ । एन्फा मैदानमै हुने तेस्रो खेल दिउँसो ३ बजे सुरु हुनेछ । सिजनको रेलिगेशनमा परेको सरस्वती लिगको अन्तिम खेलबाट सुखद बिदाई लिन चाहन्छ । तर, राष्ट्रिय लिग खेल्ने अभियानमा रहेको संकटालाई लिगको शीर्ष ६ को दौडमा कायम रहन जित निकाल्नै पर्ने दवाव छ । संकटा १५ अङ्क सहित नवौं स्थानमा छ । चार अङ्क जोडेको सरस्वती तालिकाको पुछारमा छ ।