नेकपाले आज जनयुद्ध दिवस मनाउँदै

काठमाडौँ, ०१ फागुन
सत्तारुढ दल नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) ले आज जनयुद्ध दिवस मनाउँदै छ । यसअघि पूर्व माओवादीले मात्रै मनाउने जनयुद्ध दिवस यसपटक पूर्व एमालेसहितको सहभागितामा मनाउन लागिएको हो । तत्कालीन माओवादीले २०५२ साल फागुन १ गते सुरु गरेको शसस्त्र युद्धको सम्झनामा हरेक बर्ष मनाइदै आएको यो दिवसमा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुनेछ । तत्कालिन एमालेबृत्तले जनयुद्धको स्वामित्व ग्रहण गर्न रुचि नदेखाएको भनेर आलोचना भइरहँदा पार्र्टी एकतापछिको दोस्रो जनयुद्ध दिवसमा भने प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो । नेकपा केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार धुम्बाराहीमा हुने औपचारिक कार्यक्रममा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने कार्यक्रम छ । विहान ९ बजे अध्यक्षद्वय ओली तथा दाहाल जनयुद्धका शहीदहरूको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित हुनु हुनेछ । माओवादीले २०५२ फागुन १ गते रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकीमाथि आक्रमण गरी सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादीले जनवादी राज्यसत्ता स्थापना गर्ने घोषणासहित थालेको जनयुद्धका क्रममा करिब १४ हजार नेपालीले ज्यान गुमाएका थिए । फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाइँदै आइएको छ ।