गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणका लागि समाजसेवी उमाशंकर अग्रवालद्वारा साढे ५ लाख सहयोग

चितवन, २५ माघ

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनको रामपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला निर्माणका लागि चितवनका पुराना व्यवसायी एवं समाजसेवी उमाशंकर अग्रवालले करिब साढे ५ लाख रुपैयाँ सहयोग गरेको छ । रंगशाला निर्माणका लागि फाउन्डेसनले संचालन गरिरहेको धनधान्यचल महायज्ञमा पुगि अग्रवालले आज सहयोग रकमको चेक सिताराम कट्टेल ´धुर्मुस` लाई हस्तान्तरण गरेको हो ।

आफ्ना दुई छोराहरु युवा व्यवसायी चन्दन र रन्जन अग्रवाल सहित महायज्ञमा सहयोग गर्न पुगेको अग्रवालले रंगशाला निर्माणका लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको चेक हस्तान्तरण गरेका छन । रकम हस्तान्तरण गर्दै अग्रवालले जनस्तरको पहलमा बन्न लागेको रंगशालामा सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । अग्रवाल विभिन्न १ दर्जन बढी सामाजिक संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय छन् । उनी जिल्लामा नै हरेक दिन दुःखीलाई सहयोग गर्ने व्यक्तिका रुपमा पनि परिचित छन् ।