गण्डकी प्रदेशमा उद्योगग्रामका लागि अनुदान वितरण

पर्वत, २४ माघ
गण्डकी प्रदेश सरकारले ‘एक स्थानीय तह एक उद्योगग्राम’ स्थापना कार्यक्रमका लागि स्थानीय तहलाई पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ । प्रदेश सरकारले ५ वटा उद्योगग्रामका लागि रकम वितरण गरेको हो । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले ५ पालिकालाई पहिलो किस्ता स्वरूप २७ लाख २५ हजार रुपैयाँ सम्बन्धित पालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ । पर्वतको विहादी गाउँपालिका, बागलुङको ताराखोला गाउँपालिका, स्याङ्जाको वालिङ नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकालाई अनुदान वितरण गरिएको लम्सालले जानकारी दिनुभयो । पहिलो चरणमा ५ गाउँपालिकामा कार्यक्रम कार्यान्वयन भएको र अवको दुई वर्षभित्र अन्य स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालन गरिने लक्ष्य रहेको मन्त्री लम्सालले बताउनुभएको छ । गण्डकीका २६ वटा स्थानीय तहमा औद्योगिक ग्राम सञ्चालन गर्न सकिने भन्दै संघीय सरकारसमक्ष प्रस्ताव पठाईएकोमा चालुवर्ष ११ वटाले मात्र मन्त्रीपरिषदबाट स्वीकृति पाएका छन् । अन्य पालिकाको जग्गा नपुगेको, कागजपत्र अपुग भएको जस्ता कारणले रोकिएको मन्त्रालयले जनाएको छ । पर्वतको विहादी गाउँपालिकाले उद्योगग्राम स्थापनाका लागि जग्गा खरिद गरिसकेको छ । गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले विहादी गाउँपालिका २ वर्राचौरमा ९० रोपनी जग्गा छनौट गरि डिपिआर बनाउन थालिएको जानकारी दिनुभयो । औद्योगिक ग्राममा विशेषगरी स्थानीय स्तरमा उपलब्ध हुने कच्चापदार्थ, अर्धप्रशोधित कच्चापदार्थ वा खेर गएको वस्तु प्रयोग र प्रशोधन गर्ने उद्योग सञ्चालन हुनेछ । सकेसम्म स्थानीय उत्पादनलाई जोड दिएर उद्योग सञ्चालन गर्ने कार्यविधि मन्त्रालयले बनाएको छ ।